नरहरिनाथ गापा अध्यक्ष बिष्टको राजनीतिक जीवन


काठमाडौँ। कोटै कोटका थुम्काहरूले बनेको जिल्ला हो– कालीकोट। रास्कोट, फुकोट, माल्कोट, नानीकोट, बदालकोट आदि स्थानहरू कालीकोटमा पर्ने कोटहरू हुन्। यी कोटहरूसँगको छुट्टैै पहिचान, ऐतिहासिकता र संस्कृति लुकेको छ।

मुलुक संघीयतामा जानुपूर्व कालीकोट नेपालको कान्छो जिल्लाका नामले परिचित थियो। त्यस्तै यस जिल्लालाई राज्य र अन्य भेगका मानिसहरूले विचरा र विकटताका रूपमा समेत लिने गरेको कुरालाई भुल्न सकिन्न। आज पनि हेयका नजरहरू कालीकोटमाथि दौडिरहेका छन् भन्दा अन्यथा नहोला।

साविकको कर्णाली अञ्चल, जुम्ला जिल्लामा पर्ने १ हजार ७ सय ४१ वर्गमिटर भू–भागलाई अलग बनाएर २०१८ सालमा त्रिविकोट बनाइयो। त्यसपछि २०३२ सालमा तत्कालीन रापस धर्मदत्त उपाध्यायले त्रिविकोटलाई कालीकोटमा बदल्ने काम गरेका थिए।

मुलुक संघीयतामा प्रवेश गरिसकेपछि कालीकोटलाई कर्णाली प्रदेशकै सबैभन्दा विकट र अविकसित जिल्लाका रूपमा लिनुपर्ने अवस्था छ। यहाँ ठूल्ठूला चट्टानहरू छन्। साथै, निक्कै लामो दूरीका उकाली, ओराली र भञ्ज्याङहरू पनि छन्।

जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट पूर्वप्रधानाध्यापक हुन्। बुवा सिंहबहादुर र आमा जयकला विष्टका ३ छोरी र ३ छोरामध्येका कान्छा सन्तान हुन्– अध्यक्ष विष्ट। उनी २०२४ सालमा साविकको लालुमा जन्मिएका हुन्।

विद्यार्थीदेखि स्रोत व्यक्तिसम्म

जनप्रभात उच्च माविमा कक्षा १ देखि ३ सम्म अध्ययन गरेका विष्टले कक्षा ४ देखि ७ सम्मको पढाइ नन्दादेवी उच्च मावि कोटवाडाबाट पूरा गरे। त्यसपछि जिल्ला सदरमुकाम मान्ममा रहेको पञ्चदेव उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका विष्टले सुर्खेत क्याम्पसबाट राजनीतिक विषयमा स्नातक हासिल गरेका हुन्।

त्यस्तै उनले व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका छन्। विष्टसँग १२ वर्षको प्रधानाध्यापक र १३ वर्षसम्म स्रोत व्यक्तिका रूपमा काम गरेको लामो अनुभव छ।

राजनीतिमा विष्ट

कम्युनिष्ट पार्टी सदस्य, २०३८
नेपाल मजदुर किसान पार्टीका जिल्ला कोषाध्यक्ष, २०४७
सुर्खेत क्याम्पस शिक्षा, स्ववियु सदस्य, २०५१
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, २०५२
स्रोत व्यक्तिबाट राजीनामा, २०७४
गाउँपालिका अध्यक्षमा निर्वाचित, २०७४

मानव जीवनमा दर्शन र ‘स्कुलिङ’ले ठूलो प्रभाव पार्छ। कम्युनिज्म विचारधारा आत्मसात् गरेका विष्टका विनीत सपनाहरू यही बन्ने थिएन। समयअनुसार जहाँ पनि आफूलाई सफल र योग्य प्रमाणित गर्नु उनको प्रमुख लक्ष्य थियो। राजनीतिक आग्रह र पूर्वाग्रहका रूपमा पटक–पटक बाधा–व्यवधानहरूको सामना गर्नुपरेको उनी बताउँछन्।

विकास निर्माण

नरहरिनाथ गाउँपालिकाको लालीघाटदेखि सुनथराली एयरपोर्टसम्म रोड खन्ने काम भइरहेको छ। उक्त सडकमार्गलाई लालीघाट, सुनथराली, रुप्सा हुँदै अछामको रामारोशन गाउँपालिकाको पर्यटकीय स्थल रामारोशन तालसम्म पु¥याउने दीर्घकालीन लक्ष्य छ।

अर्कोतर्फ खुलालु–लालु हुँदै रुप्सासम्मको ‘नरहरिनाथ लोकमार्ग’ खन्ने काम भइरहेको अध्यक्ष विष्ट बताउँछन्। उनी भन्छन्, ‘गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने प्रयासमा हामी जुटेका छौँ। अबको डेढ वर्षदेखि २ वर्षभित्र पूरै गापालाई रोडको पहुँचमा ल्याउने छौँ।’

कर्णाली करिडोरअन्तर्गतको खुलालुमा पुल बन्दैछ। पुलको काम नियमित भइरहेकाले छिट्टै यसले पूर्णता पाउँछ। कन्काई कन्स्ट्रक्सनले कर्णाली पुल निर्माणको जिम्मा लिएको छ।

‘कम्पनीमा म स्वयम् पुगेर चाँडो काम गर्नुहोस्, स्तरीय, दिगो र टिकाउ काम गर्नुहोस् भनिरहेको छु, मेरै पहलमा केन्द्र सरकारदेखि, निर्माण कम्पनीसम्मका समस्याहरू समाधान गरेर उक्त पुल निमार्ण भइरहेको छ,’ विष्ट भन्छन्।

चट्टान विकासको बाधक

कालीकोट जिल्लामा निक्कै ठूला चट्टानहरू छन्। अध्यक्ष विष्टले भने, ‘नरहरिनाथ लोकमार्गमा पर्ने चट्टानहरू मानव संसाधनबाट फोड्न सम्भव छैन। विस्फोटक पदार्थ गापासँग छैन। त्यो अधिकार पनि छैन। यो वर्षभित्रै गापामा गाडी पु¥याउने गरी काम थालेका थियौँ तर त्यो सम्भव भएन, अहिले नेपाली सेनासँग त्यो भीर फोड्नका लागि सहकार्य गर्न काठमाडाँै आएको छु।’

विसं २०७४ साउनदेखि काम गर्न शुरु गरेका जनप्रतिनिधिहरूले प्रदेश सरकार र कर्मचारीको असहयोगका कारण जनताको चाहना र भावना अनुरूपको काम गर्न नसकेको बताइरहेका छन्।

अध्यक्ष विष्ट भन्छन्, ‘जनताको भावना र चाहनाअनुसार काम गर्न सकिएको छैन, प्रदेश सरकारको निर्णय र निर्देशन मान्नै प¥यो, अर्कोतर्फ कर्मचारीले खुलेर सहयोग गरिरहेका छैनन्। यस्तो अवस्थामा हामीले जनताका गुनासाहरू सुन्नुपर्ने हुन्छ। जनताको काम गर्न भनेर निर्वाचित बनेका हौँ, तर जसरी काम हुनुपर्ने हो त्यो भएको छैन। तुलनात्मक रूपमा हामीले काम गरेका छौँ।’

‘२० वर्षपछि मुलुकले स्थानीय जनप्रतिनिधि पायो। जनताले आफ्ना अधिकार र आवश्यकतालाई सहज रूपमा प्राप्त गर्छन् भन्ने थियो। तर, सोचेजस्तो गरी काम गर्न सकिएन,’ विष्टले भने।

उनले अघि थपे, ‘गापाको उच्छव खोलामा १ करोड ६० लाख रुपैयाँमा ३० किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण गरेका छौँ। अबको २ वर्षभित्र धाचु खोलामा ४ सय ७० किलोवाटको विद्युत् आयोजना निर्माण गर्ने र गापालाई सोलारमुक्त बनाउने तयारीमा जुटेका छौँ। अहिले वैकल्पिक ऊर्जा र गापाको सहयोगमा उज्यालो गापा घोषणा गर्न हामी जुटिरहेका छौँ।’

विष्टले भने, ‘३ हजार घरधुरी रहेको गापाका विपन्न, एकल महिला, गरिबमध्ये १ सय ६४ जनालाई निःशुल्क सोलार वितरण गरिनेछ भने अन्य व्यक्तिले १४ हजार रुपैयाँ पर्ने सोलार ४ हजार रुपैयाँ भाडा तिरेर उपभोग गर्नेछन्। साथै, गापाको वृत्तचित्र बनिसकेको छ। त्यसैका आधारमा विकासनिर्माणका काम हुन्छन्।’

एयरपोर्ट कालोपत्रे गरिँदै

३ दशकपहिले तत्कालीन राजा वीरेन्द्रको पालामा निमार्ण कार्य शुरु गरिएको सुनथराली एयरपोर्ट अझैसम्म पनि बन्न सकेको छैन। तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिए पनि एयरपोर्टले आजसम्म पूर्णता पाउन सकेको छैन।

अध्यक्ष विष्ट भन्छन्, ‘राजनीतिक अस्थिरता, विकटता लगायतका विषयले एयरपोर्टको काम समयमै भएन। अब हाम्रो पालामा यसलाई नियमित उडान भर्ने गरी निर्माणको काम सम्पन्न गर्छौं। अहिले कालोपत्रेको काम भइरहेको छ। टावर भवन र सुरक्षा भवन बन्दैछन्। एयरपोर्ट चाँडै सञ्चालनमा आउने कुरा पक्का छ।’

नरहरिनाथ गापा मुलुकको सातौं, कर्णालीको पहिलो
अनिवार्य तथा आधारभूत शिक्षाको सूचीमा नरहरिनाथ गाउँपालिका (गापा) मुलुकको सातौँ स्थानमा रहेको छ। त्यस्तै कर्णाली प्रदेशको पहिलो नम्बरमा रहेको छ।

गापा अध्यक्ष विष्ट स्वयं शिक्षा क्षेत्रको विकासमा निरन्तर लागिपरेका व्यक्ति हुन्। निर्वाचनमा विजयी हुँदै गर्दा पनि उनले शिक्षा, स्वास्थ्य र सडक सञ्जाललाई प्रमुख प्रथामिकतामा राखेका थिए। सोही लक्ष्यअनुसार शिक्षाविद् विद्यानाथ कोइरालाको सहभागिता नीति तय गरेर अध्यक्ष विष्टले आफ्ना क्रियाकलाप अघि बढाएका थिए। मुलुकको विकास र समृद्धि शिक्षामा निहित हुने विष्टको बुझाइ छ।

गापाका १४ जना प्रधानाध्याकको सरुवा र १४ वटा स्कुल मर्ज गर्ने काम गरिएको विष्टले जानकारी दिए। उनले भने, ‘हामीले यो वर्ष गापाको स्थानीय तहमा अध्ययन गर्ने विद्यार्थीलाई बाहिर जान दिएनौँ। बरु बाहिरबाट भए पनि शिक्षक लिएर ट्युसन पढाउने वातावरण बनायौँ। अबदेखि कुनै विद्यार्थी बाहिर पढेर त्यहाँबाट परीक्षा दिने छैनन्। यो वर्षको एसईई परीक्षा दिने विद्यार्थीलाई बाहिर जानबाट रोकेका छौँ।’

स्वास्थ्य क्षेत्रमा परिवर्तन

गापामा पाँचवटा स्वास्थ्य केन्द्र सञ्चालित छन्। गापाको केन्द्र रहेको कुमलगाउँमा एक्स–रे सुविधासहितको प्राथमिक स्वास्थ्य केन्द्रलगायत ९ वटा वडामा स्वास्थ्य केन्द्र रहेका छन्।

त्यस्तै कृषि क्षेत्रमा आधुनिक बीउबिजन, फलफूलमा स्याउ, कागती, सुन्तला लगायतका बिरुवा वितरण गरेर गापालाई फलफूलयुक्त बनाउने योजनामा आफू रहेको अध्यक्ष विष्टले बताएका छन्।

(नोटः यो सामग्री नेपाली पब्लिक डटकममा २०७५ चैत १५ गते प्रकाशित भएको थियो।)