यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किए


फाइल फोटो

काठमाडौँ। सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन्।

जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो। यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार लामो समय समस्याग्रस्त भएर नेपाल फर्किन चाहनेको संख्या उल्लेख्य छ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं।’

अनलाईन खबरका अनुसार नेपाल फर्किएका नागरिकलाई काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन र सामान्य स्वास्थ्य जाँच गरिन्छ।

त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राख्ने गरी पठाइने गरिएको छ। यूएईमै पीसीआर परीक्षण गरेर नेगेटिभ नतिजा आएको अवस्थामा भने होम क्वारेन्टिनमा बस्ने गरी पठाइने गरिएको छ।