डर्टमण्ड पराजित, क्रामारिकको चार गोल



काठमाडौँ। बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत उचालेको छ। बायर्नको यो लगातार आठौं बुण्डेसलिगा उपाधि हो।

बायर्नका लागि खेलको चौथो मिनेटमै किंग्सले कोमनले गोल गर्दै अग्रता दिलाएका थिए। ३७औं मिनेटमा माइकल कुइसेनले गोल गर्दै पहिलो हाफमा बायर्नको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा वल्फ्सवर्ग दश खेलाडीमा झरेपछि बायर्नले दुई गोल थप्यो। ७१औं मिनेटमा जोसुख गुइलाभोगीलले पेनालटी एरियामा फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए।

त्यसैमा प्राप्त पेनाल्टीमा रोवर्टो लेवान्डोस्कीले गोल गर्दा बायर्नले ३(० को अग्रता बनायो । यस सिजन लेवान्डोस्कीको यो ३४औं गोल हो र उनी सर्वाधिक गोलकर्ता समेत बने। यस्तै ७९औं मिनेटमा थोमस मुलरले बायर्नका लागि चौथो गोल गरे। जितपछि बायर्नले ३४ खेलबाट ८२ अंक जोड्दै सिजन सकाएको हो।

डर्टमण्ड पराजित, क्रामारिकको चार गोल

बायर्नले अन्तिम खेलमा शानदार जित हात पार्दा दोस्रो स्थानमा रहेको बवरुसिया डर्टमण्डले भने अन्तिम खेलमा फराकिलो हार व्यहोर्‍यो । आन्द्रे क्रामारिक एक्लैले चार गोल गरेपछि होफेनहेइमले डर्टमण्डलाई ४-० ले पराजित गरेको हो। उक्त जितपछि होफेनहेइम छैटौं स्थानमा रहँदै युरोपा लिगमा छनोट हुन सफल भएको छ।

जितपछि होफेनहेइमले ३४ खेलबाट ५२ अंक जोड्यो। डर्टमण्डले भने ३४ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा लिग सकाएको छ। डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना मार्कमा भएको खेलमा होफेनहेइमका लागि क्रामारिकले खेलको दुवै हाफमा २-२ गोल गरे। आठौं मिनेटमा पहिलो गोल गरेका उनले ३०औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै ४८औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले चौथो गोल ५०औं मिनेटमा पेनाल्टीमा गरे।

टिमो वार्नर लाइपजिगको सर्वाधिक गोलकर्ता

अर्को सिजन चेल्सी जाने पक्का भइसकेका टिमो वार्नरले बुण्डेसलिगाको अन्तिम खेलमा दुई गोल गर्दा आरबी लाइपजिगले अग्सवर्गलाई २-१ ले हरायो। खेलमा दुई गोल गरेका टिमो वेर्नर लाइपजिगका लागि सर्वाधिक गोलकर्ता समेत बने। उनले क्लबका लागि ९५ गोल गरे।

वेर्नरले खेलको २८औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए। ७२औं मिनेटमा रुबेन भर्गासले अग्सवर्गका लागि बराबरी गोल फर्काएका थिए। तर, ८०औं मिनेटमा वेर्नरले गोल गर्दै लाइपजिगको जित पक्का गरे भने बुण्डेसलिगामा पनि सुखद अन्त्य गरे। वेर्नर अर्को सिजन प्रिमियर लिगमा चेल्सीबाट खेल्नेछन्। जितपछि लाइपजिगले ६६ अंकसहित तेस्रो स्थानमा रहेर लिग सकाएको छ।

बोरुसिया मोन्चेनग्लाडबाक च्याम्पियन्स लिगमा

अन्तिम दिन हेर्था बर्लिनलाई २(१ ले पराजित गर्दै बोरुसिया मोन्चेनग्लाडबाक चौथो स्थानमा रहेर अर्को सिजन युरोपियन च्याम्पियन्स लिगको लागि छनोट भएको छ। पाँचौ स्थानको बायर लेभरकुजनले पनि माइन्जलाई १-० ले पराजित गरेको थियो । तर मोन्चेनग्लाडबाकको जितपछि लेभरकुजनले युरोपा लिगमै चित्त बुझाउन बाध्य भयो।

घरेलु मैदानमा भएको खेलमा मोन्चेनग्लाडबाकका लागि जोनास होपम्यानले सातौं मिनेटमा अग्रता दिलाएका थिए। ७८औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै अग्रता दोब्बर पारे। अन्तिम समयमा हेर्थाका भेदाद इबिसेसिकले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। जितपछि मोन्चेनग्लाडबाकले ३४ खेलबाट ६५ अंक जोड्यो। पाँचौ स्थानको लेभरकुजनले भने ६२ अंक मात्र जोड्न सक्यो।

वेडर ब्रेमेनले रेलिगेसन प्लेअफ खेल्ने, फर्चुना रेलिगेसनमा

च्याम्पियन्स लिग होड जस्तै रेलिगेसन जोनमा पनि अन्तिम दिन रोमान्चक खेल भयो। पुछारबाट दोस्रोमा रहेको वेडर ब्रेमेनले एफसी कोल्नाई ६-१ ले पराजित गर्दै रेलिगेसन केही समयलाई टारेको छ। ब्रेमेनले अब बुण्डेसलिगा २ को तेस्रो स्थानमा रहेको क्लबसँग रेलिगेसन प्लेअफ खेल्नेछ।

ब्रेमनभन्दा अघि रहेको फर्चुना डुसेलठोर्फ युनियन बर्लिनसँग ३-० ले पराजित भएपछि ब्रेमेनलाई फाइदा पुगेको हो। ब्रेमेनले ३४ खेलबाट ३१ अंक जोड्दा फर्चुनाको ३० अंक मात्र रह्यो । यसअघि नै पाडेरबवर्न रेलिगेसनमा परिसकेको छ।