कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो


काठमाडौँ। नेपालमा विगत २४ घण्टामा थप ५५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ।

तीमध्ये २,८३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयले थप १३६ जना निको भएको तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको हो।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

शुक्रवार ५९३ जना, बिहीवार ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फोक्सोको क्यान्सरबाट पीडित कैलालीका एक ५० वर्षीय पुरुषको चितवनमा मृत्यु भएको हो। भारतमा उपचार गराउँदै आएको ती व्यक्तिलाई भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिँदा असार ११ गते कोभिड(१९ पुष्टि भएको थियो। भरतपुर अस्पतालको आइसोलेशनमा राखी उपचारका क्रममा आज मिति २०७७ असार १३ गते बिहान बजे मृत्यु उनको भएको हो डा. गौतमले भने।

को हुन् सङ्क्रमित ?

शनिवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका छन्। तर तिनमा युवा र पुरुषको बाहुल्य छ। डोटीमा ४० महिला र ३१ पुरुषसहित कुल ७१ सङ्क्रमित भएका छन्।

बाजुरा ६६, प्युठान ४९, रौतहट ३४, दाङमा ३१, महोत्तरीमा ३०, पाल्पा २६, बैतडी २४ र स्याङ्जा २१ जनामा पनि सङ्क्रमण देखिएको छ। काठमाण्डू उपत्यकाका दुई जिल्ला काठमाण्डू र भक्तपुरमा पनि क्रमशः चार र एक सङ्क्रमित थपिएका छन्। बीबीसी