सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने सरकारको घोषणा


बुटवल। प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ। प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो।

‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन्।’

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ। बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ। मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ।

३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए।

धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील

अनलाईन खबरका अनुसार मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ। ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाई नै हुन सक्दैन।

सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ।’

सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ।

मन्त्रालयको ‘हावा’ प्रतिवेदन

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

यस अघि पनि भारतको राजस्थानसम्म जुलाई महिना पटक पटक सलहको नयाँ झुण्डहरु आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुण्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख थियो ।

सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो।

एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागाइँले भने।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो। समितिले तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन भने मन्त्रालयलाई सुझाव दिएको थियो।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो, समिति संयोजक हुँमागाईले भने।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ। ‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन।’