भारत र दक्षिणपूर्वी एसियामा चीनबाट खतरा छ: अमेरिका



काठमाडौँ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतमा चीनको खतरा बढिरहेको बताएका छन्।

ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको भन्दै युरोपमा रहेको अमेरिकी सेना कटौती गर्ने बताएका छन्।

पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको बताएका हुन्। उनले चिनियाँ सेनाको सामना गर्नका लागि तयार रहन युरोपबाट सेना कटौतीको निर्णय अघि सारिएको धारणा राखेका छन्।

विदेशमन्त्री पेम्पेओले चीनबाट उसका छिमेकी मुलुकहरुमा रहेको खतराप्रति आफ्नो निगरानी जारी रहेको बताएका छन्। चीनको खतराको विषयमा अमेरिकाले युरोपसँग पनि छलफल गर्न गइरहेको पोम्पेओको भनाइ छ। उनले चीनको गतिविधि रोक्नका लागि ईयू र अमेरिका मिलेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन्।

पोम्पेओले ईयू सधैं चीनप्रति उदार बनेको आरोप लगाएका छन्। चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको सुरक्षाको विषयमा बोल्दै पोम्पेओले यो कम्पनीको मुख्यालयमा चिनियाँ सुरक्षाकर्मीले काम गर्ने गरेको र चिनियाँ कानुनअनुसार सरकारले मागेको खण्डमा हुवावेले कुनै पनि तथ्यांक बुझाउने बताएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीको माग अनुसार यो कम्पनीले निजी डाटा पनि सरकारलाई बुझाउने पोम्पेओले बताए।

तनाव कम गर्ने जिम्मा भारतको: चीन

यसैबीच चीनले भारत–चीन सीमाक्षेत्रमा देखिएको तनाव कम गर्ने जिम्मेवारी भारतको रहेको बताएको छ। भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको एक अन्तर्वार्तामा भारतका लागि चिनियाँ राजदूतले यस्तो बताएका हुन्।

उनले अहिले स्थिति जटिल बन्नबाट बच्नुपर्ने अवस्था रहेको बताएका छन्। जुन १५ मा लद्दाखको चीनसँगको सीमाक्षेत्रमा दुवै पक्षका सेनाको बीचमा झडपहुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। सोही घटनापछि अहिले दुई मुलुकको बीचमा तनाव बढेको छ।

भारतका लागि चिनियाँ राजदूत सुन वेइयोङले भारतीय सेनाले सीमाको नियम उल्लंघन गरेको कारण तनाव कम गर्ने प्रयास पनि भारतले शुरु गर्नुपर्ने बताएका हुन्।

स्रोत: बीबीसी