२४ घण्टामा अमेरिकामा३४ हजार, भारतमा १७ हजार कोरोना संक्रमित



काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टामा करिब १७ हजार जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन्। यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ।

दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ। तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ।

पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५९१ जनाको मृत्यु भएको छ। बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ७१ हजार ६९७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।

अमेरिकामा एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित

अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्।

क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन्। अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन्।

टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन्। त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन्।

अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा बढाइनु रहेको बताउँदै आएका छन्। अघिल्लो साताको तुलनामा अमेरिकाका कम्तीमा २६ राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेको देखिएको छ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी०ले जुलाई १८ सम्म अमेरिकामा कोरनो भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार देखि एक लाख ५० हजारसम्म पुग्ने चेतावनी दिएको छ। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका २३ लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख २१ हजार ९६९ जनाको मृत्यु पनि भइसकेको छ।

स्रोत: सीएनएन