सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले सातौं नगरसभाबाट एक अर्ब ४३ करोडको बजेट ल्याएको छ।
बुधबार कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले महत्वाकांक्षी बजेट प्रस्तुत गरेकी हु्न्। आगामी आर्थिक वर्ष २०७७/०७८ मा कुल जम्मा एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
९० करोड ४० लाख १४ हजार चार सय रुपैंया चालुतर्फ र ५१ करोड ६७ लाख ९८ हजार चार सय २३ पूँजीगततर्फ र वित्तीय व्यवस्थातर्फ ८२ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।
ढकालले हरेक वडामा एक करोड बजेट पठाउनेदेखि जेहेन्दार छोरीलाई छात्रवृत्ति कार्यक्रम ल्याएको दाबी गरेकी छन्।
त्यस्तै नपाले सञ्चारकर्मीहरुको उत्प्रेरणा वृद्धि गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरु मध्ये महिला र पुरुष गरी उत्कृष्ट दुई जना पत्रकारलाई नगर विकास पत्रकारिता पदक तथा जनही ५० हजार नगद पुरस्कारबाट सम्मान गरिने कार्यक्रम बजेटमा समावेश छ।