इतिहासमा आज: दुई कोरियाबीचको युद्ध



काठमाडौँ। सन् १९५० मा आजैका दिन उत्तर कोरियाले दक्षिण कोरिया कब्जा गर्न थालेपछि कोरियाली युद्ध सुरु भयो। ‘फादरल्यान्ड लिवरेशन वार’ नाम दिइएको यस युद्धमा सोभियत युनियन र चीनले उत्तर कोरिया तथा संयुक्त राष्ट्रसंघ र विशेषगरी अमेरिकाले दक्षिण कोरियालाई साथ दिएका थिए।

दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत युनियन र अमेरिकाले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए, १५ अगस्ट १९४५ मा सन् १९४८ मा उत्तरतर्फ सोभियत र दक्षिणतर्फ अमेरिकाको नियन्त्रण रहनेगरी मध्यभागमा सीमारेखा खिचियो।

त्यसपछि दक्षिण कोरिया र उत्तर कोरिया नामका दुई सार्वभौम देश खडा भए। अमेरिका र सोभियत युनियनबीचको शीतयुद्धले सिर्जित भूराजनीतिक तनावले यस्तो अवस्था निम्त्याएको थियो।

उत्तरतर्फ किम इल सुङको नेतृत्वमा कम्युनिष्ट सरकार बन्यो र दक्षिणतर्फ सिङ मेन रिईको नेतृत्वमा कम्युनिष्ट विरोधी पुँजीवादी सरकार खडा भयो। दुबै सरकारले आफुलाई पुरै कोरियाली महाद्विपको एक्लो वैद्य सरकार ठान्थे, उनीहरुले दुई देशलाई विभाजन गर्नेगरी कोरिएको सीमा रेखालाई पनि कहिल्यै स्थायी रुपमा स्वीकारेनन्।

जब सोभियत युनियन र चीनको समर्थन पाएको उत्तर कोरियाली सेना सीमारेखा पार गरेर २५ जुन, १९५० मा दक्षिण कोरियामा पुग्यो, तब विवादले युद्धको रुप लियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले दक्षिण कोरियालाई सहयोग गर्ने गरी संयुक्त राष्ट्रसंघ कमाण्ड नामको फौज खडा गर्न स्वीकृति दियो र यो फौज उत्तर कोरियालाई परास्त गर्नका लागि परिचालित भयो। २१ वटा देशले संयुक्त राष्ट्रसंघको दस्तामा योगदान गरे, यसमध्ये ९० प्रतिशत सैनिक अमेरिकाका थिए।

यस युद्धका क्रममा चारपटकसम्म उत्तर कोरियाले सिओल कब्जा गर्यो। तर, जहाँबाट युद्ध सुरु भएको थियो, उनीहरुलाई त्यहीं फर्काउन दक्षिण कोरियाली सैनिक सफल भए। उत्तर कोरियामा अमेरिकाले बम खसालिरह्यो र सोभियत युनियनले पनि आफ्नो कम्युनिष्ट सहयोगीको रक्षार्थ जहाज पठाइरह्यो।

तीन वर्षसम्मको युद्धपछि २७ जुलाई १९५३ मा ‘कोरियाली आर्मिस्टिक सम्झौता’मा हस्ताक्षर भयो। यस सम्झौताले कोरियाली डिमिलिट्रीलाईज्ड जोन ‘डिएमजेट’ (सैन्यरहित क्षेत्र) सिर्जना ग¥यो, यही क्षेत्र दुई देशीय सीमा क्षेत्र हो।

उत्तर र दक्षिण कोरिया दुबैले बन्दी बनाइएका सैनिकलाई रिहा गरे। यद्यपी, कुनै शान्ति सम्झौतामा हस्ताक्षर भएन, जसको अर्थ दुई कोरियाली देश अहिले पनि प्राविधिक रुपमा युद्धमै छन् र सधैँ एकअर्काविरुद्ध रोष पोखिरहन्छन्।

अप्रिल २०१८ मा उत्तर र दक्षिण कोरियाका नेताबीच डिएमजेट अर्थात् सीमाक्षेत्रमा भेट भयो र उनीहरुबीच कोरियाली युद्धलाई सम्झौतामार्फत औपचारिक रुपमै समाप्त गर्नका लागि सहकार्य गर्ने सहमति बन्यो। यद्यपी भर्खरै उत्तरको कम्युनिष्ट सरकारको विरोध गर्दै दक्षिणतर्फबाट विद्रोहीहरुले पर्चा फालेपछि केही साता यता दुई देशबीच सम्बन्ध चिसिएको हो।

आधुनिक युगका सर्वाधिक ठूला विध्वंशमध्ये कोरियाली युद्ध पनि एक हो। यस क्रममा झन्डै ३० लाखले ज्यान गुमाए। यसमध्ये ठूलो संख्या सर्वसाधारणको थियो। युद्धका क्रममा कोरियाका झन्डै सबै प्रमुख शहर ध्वस्त भए।

दुई पक्षका सरकारले धेरै सर्वसाधारण र युद्धबन्दीलाई चरम यातना दिए, खान नदिएर हत्या गरे। यस युद्धका क्रममा अमेरिकाले उत्तर कोरियामा यति धेरै बम खसालेको थियो कि इतिहासमा उत्तर कोरिया सबैभन्दा धेरै बम खसालिएको क्षेत्रमध्ये पर्छ।

अन्य घटनाक्रम

१, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा १९७५ मा भारतमा संकटकाल लगाउने घोषणा

२, २६ जुनदेखि यो घोषणा कार्यान्वयनमा आयो र २१ महिनासम्म संकटकाल कायम

३, भारत स्वतन्त्रतापछिको यो सबैभन्दा ठूलो विवादास्पद निर्णय थियो।

४, ५० वर्षको उमेरमा २००९ मा माइकल ज्याक्सनको मृत्यु।

एजेन्सी