काठमाडौँ। चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
बुधबार नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन्।
‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमणमा परेको छ’ संकल्प प्रस्तावमा भनिएको छ।
चीनियाँ अतिक्रमणमा परेको भू-भागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि र सम्बन्धित गाउँको अवस्थाबारे संसदलाई जानकारी गराउन उनीहरुले माग गरेको छ।
नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु रहेको उल्लेख गर्दै कांग्रेसका सांसदहरुले ९८ वटा सीमा स्तम्भमध्ये केही सीमास्तम्भ हराएका र केही नेपालभित्र सारिएको दाबी गरेका छन्।
गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ।
गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्न गएको र दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनिया अतिक्रमणमा परेको उनीहरुले उल्लेख गरेका छन् ।