आलोपालो छोडेर गल्ति गरें: अध्यक्ष प्रचण्ड



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको बताएका छन्।

बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखेका छन्।

जेठ २ को सहमतिको स्मरण गरेका हुन्। सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेर गल्ति गरेको बताए।

त्यस्तै उता अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन्। त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरेका छन्।