कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो



काठमाडौँ। नेपालमा विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र थप एक जनाको मृत्यु भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ। तीमध्ये २४ जनाको मृत्यु भएको छ भने २,२२४ जना निको भएका छन्।
विगत २४ घण्टामा ७६ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

मृत्यु हुने को हुन् ?

कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा मृत्यु हुने २४औँ व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं। ३ निवासी ४५ वर्षीय पुरुष रहेको डा। गौतमले बताए।

ती व्यक्तिको असार ८ गते राति ९स्३० बजे मृत्यु भएको हो। क्षयरोग र दमको बिरामी रहेका उनी प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत रहेको डा। गौतमले जनाए।

दुल्लु अस्पतालबाट असार ३ गते सुर्खेत ल्याइएका उनको सोही दिन स्वाब सङ्कलन गरिएको र भोलिपल्ट सङ्क्रमण पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क ?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,९९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,८६,३६६ पुगेको छ।

अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड(१९ पुगिसकेको पुष्टि भएको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ८५,८१३ जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।