२४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित थपिए



काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन्। यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन्। पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो। अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन्।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ। ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा धेरै छ।