म लाखौं जनताको आवाज बोल्ने सपना देख्छु। ति पीडित र अन्यायको रेखामूनि बाँचिरहेको मानिसहरुको बारेमा लेख्ने प्रयास गरिरहेको छु। तर, पीडितका आवाज बोल्न र अन्यायमा परेकाहरुको कथा कतिसम्म लेख्न सक्छु ?
त्यसको मूल्याङ्कन पाठक वर्गकै हातमा छ। म त्यस्तो मानिसहरुको आवाज लेख्न चाहन्छु, जो जातीय छुवाछुतले गर्दा हजारौं वर्षदेखि अछुत भएर बाँचीरहेका छन्। म त्यस्तो कथा लेख्न चाहन्छु, जसको मनमा जातीय पीडाका पहाडहरु उभिएका छन्।
मेरो मनमा यस्ता धेरै प्रश्नहरु छन्। जुन तपाईंहरुको मनमा पनि चलिरहेका होलान्। आज यस पंतिकारले यिनै विषयमा सकेसम्म प्रष्ट्याउने कोसिस गर्नेछ।
विषय प्रवेश
सर्वप्रथम छुवाछुतको बारेमा कुरा गरौं। मेरो अध्ययनअनुसार छुवाछुतको सुरुवात हिन्दुधर्मको मनुस्मृतीको जात व्यवस्थाभन्दा पहिला नै सुरु भैसकेको थियो। त्यो बेला छुवाछुत भन्ने शब्द प्रयोग नगरे पनि समाज ढुङ्गे युगमा मानिस र जनावरबीच छुवाछुत थियो। त्यसपछि दास युगको समाजले आफ्नो रुपरेखा कोर्यो र त्यहाँ हजारौं दासहरुलाई छुवाछुतको सिकार बनाइयो।
समाज परिर्वतनशिल छ। समाज त्यँही रोकिएन। त्यसपछि समाज सामन्तवादमा प्रवेश गर्यो। यहाँ भूमिपति र भूमिहिनबीच छुवाछुतले आफ्नो जग बसायो। विस्तारै समाज पूँजिवादको नयाँ श्रृङखलामा प्रवेश गर्यो। त्यहाँ धनि र गरिबबीच छुवाछुतले आफ्नो भ्रुण जन्मायो। अहिले समाज साम्राज्यवाद तिर विकसित हुदैछ। कमजोर र बलवानबीचको दुरीको रुपमा छुवाछुत आफ्नो जरा मौलाई राखेको छ। यो त थियो समाजको विकासक्रमसँगै विश्वको छुवाछुत तथा विभेदको जन्म।
अब कुरा गरौं हाम्रो समाजको। हाम्रो समाजमा रहेको जात व्यवस्थाको, सनातन धर्मभित्रको स्मृतिमा रहेको मनुस्मृतिको जात व्यवस्थाको। अहिलेभन्दा हजारौं वर्ष अगाडी मनुले जुन समाजको रुपरेखा तयार पारे त्योभित्र जात व्यवस्था, नेक-भेट-दाईजो व्यवस्था, सति व्यवस्था आदि इत्यादि थिए।
यि कुप्रथाहरु समाजमा समयअनुसार परिर्वन हुँदैगए। यसको गलत तात्पर्य र अर्थ लगाउँदै गए। “मैले यसो भनिरहँदा मनुस्मृति सहि हो भन्न खोजेको होइन। म सधै यो अधार्मीक पुस्तक हो नै भनेर मत राख्छु र राख्नेछु। तर, त्यहाँ जात व्यवस्थामा भनिएको कुरालाई नजरअन्दाज पनि गर्नु गलत हुनेछ।
त्यहाँ लेखिएको छ, ‘मानिस जन्मले होइन कर्मले ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुनेछ।’ तर, हालका कथित बुद्धीजिवि, ब्राह्मणवादीहरुले यसको गलत अर्थ बुझेर वा जानिजानि गलत अर्थ लगाएर यसलाई थर व्यवस्थामा रुपान्तरित गरिदिए। जसको कारणले आज समाज छुवाछुत जस्तो घृणित कुप्रथाबाट जकडिएर बाँच्न बाध्य छ। जसका सिकार महाभारतका कर्णदेखि हाल नवराज विकसम्म हुनु पर्यो।
थर व्यवस्था झन् जात व्यवस्थाभन्दा पनि जटिल कुप्रथाको रुपमा रहेको छ। नेपालको सन्दर्भमा उपाध्याय बाहुन थरले जोशी बाहुन थरलाई छुवाछुत गर्छन्। बिष्ट क्षेत्री थरले नेगी क्षेत्री थरलाई छुवाछुत गर्छन्। बैश्य कपाली बैश्य थरले सुनरी बैश्य थरलाई छुवाछुत गर्छन् भने सबैभन्दा खतरनाक विभेद शुद्र थरभित्र छ।
विश्वकर्मा थरले दमाई थरलाई, दमाई थरले वादी थरलाई, बादी थरले भाड थरलाई छुवाछुत गर्छन्। बाहुन, क्षेत्री र बैश्य यि तिनैले समाजमा शुद्र थरकालाई नै छुवाछुत गर्छन्। त्यहि भएर सबैभन्दा बढि छुवाछुत पीडित शुद्र थर नै हो, यस्मा कुनै दुई मत छैन। तर, मेरो प्रश्न यहाँनेर छ, जसले अरुबाट छुवाछुत भएको महसुस गर्छ, उसैले भाड थरमाथि वा आफ्नै जातीभित्रका अन्य थरीलाई छुवाछुत गर्छन्, तिनीहरु कुन जात व्यवस्था भित्र पर्छन्? यो कस्तो खालको विभेद हो ? यसले वर्षौदेखि दिइरहेको सन्देशको अर्थ के हो ? यसका बारेमा नयाँ सोच, चेतना र विचारको कोणबाट हेर्न ढिला भएन र ?
दलित आन्दोलनप्रतिको मेरो धारणा
अब कुरा गरौं दलित आन्दोलनको। सर्वप्रथम म यो दलित शब्दलाई नै मान्दिन। केही अधिकार्मीहरु दलित शब्दलाई आन्दोलनबाट स्थापित शब्दका रुपमा पनि ब्याख्या गर्नुहुन्छ। मेरो यसमा सहमति छैन। समाजमा जुन तरिकाले छुवाछुत पीडितहरुले दलित शब्द प्रयोग गरेर एकजुट हुँदैछन् त्यसमा मेरो आपत्ती छैन।
तर, यसो भनिरहँदा दलित आन्दोलन सहि दिशामा गइरहेको छ भनेर म कदापि भन्दिन। मेरो पहिलो लेख ‘समाजभित्र म र दलित’ शीर्षकमा दलित शब्दको उत्पत्ति र यसको प्रयोगका बारेमा व्याख्या गरेको थिए। मैले त्यही कुरा यस लेखमा दोहोर्याईन।
‘दलित आन्दोलन गलत छ। गलत भनेर भन्नु मात्रै उपाए होइन। यसमा मेरा केही फरक मत र बुझाइ छन्। मेरो विचार प्रस्टयाउनु जरुरी हुन्छ। हाम्रो विश्व समुदाय वा समाजमा समय समयमा विभिन्न क्रान्ति, युद्ध, आन्दोलन भैरहन्छन्।यहाँ के भन्न चाहान्छु भने दलित आन्दोलनले समाज थर व्यवस्थाभन्दा पनि झन् जटिल वर्ग व्यवस्थामा जादैछ। जसले गर्दा हिजोका दिनमा शुद्र भनेर छुवाछुत गरिन्थ्यो, त्यसको नयाँरुप थर व्यवस्थामा आयो। जुन हाम्रा पुर्खाहरुदेखि हामीसम्म भोगदै छौं। तर, अब छुवाछुतको नयाँ रुप सिर्जना भैसकेको छ। त्यो पनि हाम्रै लागि लड्नेहरुले गरेका हुन्। जुन हो दलितवर्ग व्यवस्था। अबका दिनमा नयाँ पुस्ताले विक, दमाई, कामी भनेर छुवाछुत नगर्ला। तर, दलित भनेर अवश्य गर्नेछन्। यो कुरा सबैले बुझ्न जरुरी छ।’
यि मध्ये भारतको असफल दलित आन्दोलन पनि एक हो। त्यो असफल हुनुमा मुख्य कुरा त्यहाँ केवल मनुस्मृतिले निम्त्याएको जात व्यवस्थासँगमात्र युद्ध गर्नु थियो। जबकी जात व्यवस्था त्योभन्दा पनि जटिल थर व्यवस्थामा पुगिसकेको थियो। यदि यो कुरा समयमै हाम्रो पुस्ताले मनन् नगर्ने हो भने अन्यायमा परेको वर्ग अझैं हजारौं वर्षसम्म पनि जातीय विभेदको भूमरीमा परिरहने छ। जातीय विभेदका विरुद्धमा आन्दोलनहरु भइरहनेछन्।
यहाँ के भन्न चाहान्छु भने दलित आन्दोलनले समाज थर व्यवस्थाभन्दा पनि झन् जटिल वर्ग व्यवस्थामा जादैछ। जसले गर्दा हिजोका दिनमा शुद्र भनेर छुवाछुत गरिन्थ्यो, त्यसको नयाँरुप थर व्यवस्थामा आयो। जुन हाम्रा पुर्खाहरुदेखि हामीसम्म भोगदै छौं। तर, अब छुवाछुतको नयाँ रुप सिर्जना भैसकेको छ। त्यो पनि हाम्रै लागि लड्नेहरुले गरेका हुन्। जुन हो दलितवर्ग व्यवस्था। अबका दिनमा नयाँ पुस्ताले विक, दमाई, कामी भनेर छुवाछुत नगर्ला। तर, दलित भनेर अवश्य गर्नेछन्। यो कुरा सबैले बुझ्न जरुरी छ।
मैले यस्तो भनिरहँदा मलाई दलित आन्दोलन भाड्ने, विध्वसंकारी, दलित बिरोधि, डलरवादी आदि इत्यादीले सम्बोधन गरिएला। तर, दलित शब्दभन्दा मलाई विध्वसंकारी नै ठिक छ। किन भने म विध्वसंकारी होइन भनेर प्रमाणीत गर्न सक्छु। तर, मान्छेको जात मान्छे बाहेक अर्को कुनै दलित या गरै दलित हुन्छ भन्ने कुरा प्रमाणित गर्न सक्दिन। तपाईले म अछुत होइन भनेर मनुस्मृतिले जकडिएको समाजमा कसरी प्रमाणित गर्नु हुन्छ ? यसलाई दलित भन्ने नयाँ शब्द दिएर ? यो कुरा सम्भव छैन। वैज्ञानिक छैन।
यसरी नै सम्भव थियो भने भारतमा दलित आन्दोलन, नेपालमा पटक पटक २००७, २०४७ को जनआन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनले हटाई सक्थ्यो। तर, हामी आफै गलत मार्गतिर डोरिदैछौं, कसरी सम्भव हुन्छ?
सतिप्रथाको स्मरण
सतिप्रथाको स्मरण गरौं। कुनै बेला हाम्रै देशमा सतिप्रथा थियो। पुरुष मर्दा महिलाहरुले आत्मदाह गर्नुपर्ने हुन्थ्यो। त्यो प्रथा त छुवाछुत मात्रै थिएन, महाअपराध थियो। महिलाले बाँच्न पाउने अधिकार गुमाउनु पथ्र्यो। जीवन समाप्त पार्नु पथ्र्यो। छुवाछुत जस्तै समाजमा जरा गाडेर बसेको कुप्रथा थियो। यसको कारणले हजारौं वर्षदेखि महिलाहरुले चरम पिडा खेप्नु परेको थियो।
यसको निर्मुलिकरण गर्न त्यो बेलामा स्वयं महिलाहरुले आन्दोलन गरेको भए, सबै महिलाहरु एक ठाउँमा आएर केवल संविधानमा सतिमुक्त देश घोषणा गर्न माग गरेका भए, मानौं जसका ५ ओटा श्रीमति छन् त्यहाँ पति मर्यो भने जेठी र कान्छी मात्रै सति जाने व्यवस्था हुनु प¥यो भन्ने खालका माग गरेका भए त्यो प्रथा हटाउन सम्भव थियो त? अमानवीयताको पराकाष्टाका रुपमा रहेको तात्कालिन सति कुप्रथा निर्मलु हुन्थ्यो ?
यस्ता खालका आन्दोलनले अन्तीम विन्दु भेटाउँदैन्। सतही कुराहरुको आधारमा गरिने आन्दोलनले सफलता प्राप्त गर्दैनन्। यस्ता हल्का कुराहरु बोकेर त्यतिबेलाका महिलाहरुले मुक्ति आन्दोलन गरेकी हुन्थिन भने त्यसलाई बढावा दिनु बाहेक केही हुन्थेन। त्यसरी सति कुप्रथा हटाउन सम्भव पनि थिएन। किन कि छुवाछुत कुप्रथा जस्तै सति कुप्रथा पनि धर्मसँग जोडिएर आएको कुरिति थियो। जब यसलाई भारतमा समाज सुधारकहरुले ठूलो त्याग तपस्या र बलिदानी पूर्वक कुप्रथा सन् १८२९ मा रोकियो।
यहाँ नेर एउटा गम्भीर प्रसँगलाई स्मरण गरौं। नेपालमा सति कुप्रथालाई हटाउन पहिलो प्रयास जंगबहादुर राणाले गरेका थिए। त्यसपछि प्रधानमन्त्री वीर शमशेरले सन् (१८८५ देखि १९०१) अवधिमा उक्तप्रथा सम्बन्धि कानूनमा संशोधन गरेको इतिहास छ। जंगबहादुर र वीर शमशेरले प्रयास गरेको तर, प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९२०, जुलाई ८ मा आफ्नो ५८औं जन्मदिनमा सति कुप्रथाको अन्त्य गर्ने कडा कानून घोषणा गरेपछि त्यो कुप्रथालाई समाजबाट उखेलेर फाल्ने काम भयो। सति शब्द आज एकादेशको कथा जस्तो भएको छ। एकादेशको कथा मात्रै बनेन उक्त कुप्रथामाथि फिल्मसम्म बनेका छन्।
जसरी सतिप्रथालाई हटाउन सम्भव भयो। त्यसरी नै जातीय छुवाछुत हटाउन सम्भव छ। हामी सबैले एउटै स्वरमा भन्नुपर्छ, ‘हामी सबै मानिस हौं। जातले हामीलाई केही दिँदैन। हाम्रो कर्मले अस्तित्व निर्धारण गर्छ। पीडितहरुले नयाँ थर जोडेर लड्ने होइनकी यसलाई समाजबाटै बहिष्कार गराउने हो।’ यो कुरा कित छुवाछुत पीडितहरुले नबुझेका हुन्, कि जानिजानि राजनीतिक पद, सत्तामा पुग्नेलोभले खेल खेलीरहेका छन्। यसो भनिरहँदा अन्यायमा परेकाहरुलाई न्याय नै नमिलोस् भन्न खोजिएको होईन।
अन्त्यमा,
जाति व्यवस्थाभन्दा पनि थर व्यवस्थाले हाम्रो भविष्य यहि छुवाछुतमा वित्न लागि सक्यो। तर, आउने पुस्ताले हाम्रो कुधर्म कुरितिले राखेको नामको पछाडिको शब्द हटाउनुको सट्टामा झन् देशको संविधानले नै नयाँ ३ वटा थर (शुद्र, दमाई, दलित) भिराएर बाँच्न बाध्य पारेको छ।
हाम्रा अग्रजहरुले यहि कुरालाई किन बढावा दिदैँछन्? यसरी त अझै हामी हजारौं वर्षसम्म पनि छुवाछुतको नयाँ स्वरुप (दलित) को रुपमा पीडित हुनेछौं। समयमै यसको बारेमा छुवाछुतविरुद्ध लडिरहेका अग्रजहरु र नयाँ पुस्ताले नसोच्ने हो भने हामीले लडिरहेको लडाईको कुनै अर्थ छैन। हामी गलत दिशामा डोहोरिदैछौँ। दलित शब्दलाई जात, वर्ग र चेतनाका रुपमा विकसित गराउनु झन् मुर्खता र जडता हुनेछ। यतातिर पनि ध्यान दिनुपर्छ कि?
(लेखक चौधरी ग्राफिक डिजाइनर हु्न्)