‘बाकसमा आउने युवाहरुको लास कहिलेसम्म कुर्ने?’



काठमाडौँ। नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले रोजगारीका लागि विदेशीएका नेपाली युवाहरुको बारेमा सरकारलाई गम्भीर हुन सुझाव दिएकी छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत नायिका थापाले हालैमात्र ६ महिनादेखि विदेशमा रहेका २३ जना नेपाली युवाहरुको लास स्वदेश ल्याइएको विषयलाई इंकित गर्दै सरकारलाई यस्तो सुझाव दिएकी हुन्।

विदेशी भूमिमा गएर देशको लागि रेमिट्यान्स पठाउने युवाहरु लास बनेर आएको दर्दनाक दृश्यहरुले आफूलाई मर्माहत बनाएको बताउँदै उनले लेखेकी छन्, ‘बेरोजगारिको पिडा, परिवारको दायित्व, मनमा सपना र रहर बोकेर बिदेशको श्रम बजारमा धकेलिन बाध्य सयौं युवाहरु लास बनेर बाकसमा फर्केको हेर्न नसकिने भयो। ति परिवारका सदस्यलाई कस्तो होला ? ति आमा दिदीबहिनिलाई कस्तो बेदना र शोक होला ?’

उनले अगाडि लेखेकी छन्, ‘वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति सबै हाम्रा युवाको सुरक्षाबारे केही गर्न सकिन्न ? देशमा उद्योग रोजगारी र अवसर भए किन पराइ भूमिमा यसरी जोखिम लिनु पर्थ्यो होला ? केही त सोच सरकार । के हिजोदेखि आज र भोली पनि यिनै युवाको कमाइ खाएर यस्तै गरी बाकसमा लास पर्खिरहने हो ? कहिले हुन्छ यो दुः खको अन्त्य ?’

विदेशमा रहेका नेपालीहरुको पीडा र बेदनाका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नायिका थापाले स्वदेशमा रोजगार सिर्जना गर्न र युवाहरुको व्यवस्थान गर्न सरकारले विश्वस्त कार्यक्रम ल्याउनु पर्ने बताउँदै आएकी छन्।

२४ जनाको लास ल्याइयो

कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा शव गत शुक्रबार काठमाडौं आइपुगेका हुन्। शबहरू भित्रिँदा विमानस्थलमा सन्नाटा छाएको थियो। आफन्तहरु भावविह्वल बनेका थिए। कोरोनाको कहरमाथि थप आफन्तको मृत्युले आफन्तहरु झनै मर्माहत बनेका थिए।

यि हुन् २४ जना 

कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जिपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगरको शव काठमाडौं आएको छ।

त्यस्तै, कतारबाटै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ।

कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव पनि ल्याइएको छ। यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बानुर्बू शेर्पा शव पनि आएको छ।