आइतबारको मौसम पूर्वानुमान



काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ। यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  यस्तै, आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ।

यसैगरी, गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, राति  सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने पूर्वानुमानमा उल्लेख छ।

राति, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको र प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।