काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा अभिने निर्णय गरेको छ।
शनिबार बिहान बसेको (नेकपा) सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्नेमा नकेपाले सहमति जुटाएको हो।
त्यस्तै विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ। नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ।
अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन। पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो।
त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको थियो।