काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२६ जना थपिएका छन्।
त्यस्तै २ सय १६ जना डिस्चार्ज भएका छन्। तीमध्ये १,४०२ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
बिहीवार मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,२०३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,६१,७४९ पुगेको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि १,०९,४६१ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्। अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड१९ भएका व्यक्ति भेटिएका छन्।