काठमाडौँ। चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन्।
अमेरिकी विदेशमन्त्री पोम्पियोले लेखेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। शोकको यो समयमा हामी ती सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गर्दछौं।’
भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस पनि गरिरहेको बीबीसीले लेखेको छ। गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए।
अमेरिका र चीन दुवै देश तनावलाई थप बढ्न दिन नचाहेको रुपमा पनि यो बैठकलाई लिइएको छ। चीनले यो छलफललाई रचनात्मक भनेको छ। यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन्।
किनभने यो चीनको आन्तरिक मामिला हो। साथै पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेको बीबीसीले जनाएको छ।