काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीकी नीजि चिकित्सक डा.दिव्या सिंह शाहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरेपछि चौतर्फि विरोध भएको छ।
बुधबार विश्वविद्यालयको कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने पद्धति मिचेर शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग प्रमुख डा. शाहलाई नियुक्ति गरेपछि विरोध भएको हो।
यसै सन्दर्भमा सत्तारुढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङ्लेसमेत विधि विधानलाई मिचेको भन्दै निर्णय सच्याउन माग गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेशबुक मार्फत संयोजक तामाङ्ले बिधिसंगत प्रतिष्पर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गरिनुपर्छ भन्ने संगठनको माग रहेको भन्दै निर्णय सच्याउन सुझाव दिएका हुन्।
उनले लेखेका छन्, ‘आईओएममा फेरि गलत भयो। बिधिसंगत प्रतिष्पर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गरिनुपर्छ भन्ने संगठनको माग हो। खुला प्रतिष्पर्धाले हाम्रोभन्दा राम्रो ब्यक्ति छनौट गर्छ। तर, सरकारले बिधि र प्रतिष्पर्धाबाट नभई राम्रोभन्दा आफ्नो निकटका ब्यक्तिलाई उपहार वा पुरस्कार स्वरुप पद बाड्दा शिक्षण संस्थामा हामीले खोजेको गुणस्तर कदापि सम्भव छैन।’
उनले अगाडि लेखेका छन्, ‘कम्तिमा आईओएमको डिन नियुक्ति बिगतमा बरिष्ठताका आधारमा गरिएको थियो। तर, यस पटक त खुला प्रतिष्पर्धा टाढाको कुरा बरिष्ठता समेत मिचियो। जो गलत छ, यसलाई सच्याउनुपर्छ।’
तामाङले पोखरा विश्वविद्यालयमा लामो समयदेखि पदाधिकारी बिहिन भएका कारण विश्वविद्यालय लथालिङ्ग बनेको बताएका छन्। उनले भनेका छन्, ‘सरकारले आवेदनको नाटक गरेको वर्षदिन कट्यो। तर, अझै आफ्नो निकट एसम्यान नपाएर सायद पदाकारी नियुक्त गरिएको छैन। यो स्वछन्दता र गैरजिम्मेवार प्रबृतिका बिरुद्ध बिधि र खुला प्रतिशपर्धाको पक्षमा लागौं।’
भनिन्छ, प्रधानमन्त्री तथा कुलपति ओली र उपकुलपति बाँस्कोटाले शाहलाई नियुक्ति गर्ने तयारी गरेको चर्चा अग्रवालको कार्यकाल सकिनुअघिदेखि नै थियो। प्रधानमन्त्रीनिकट रहेकै कारण डा। शाहले चिकित्सा शिक्षा आयोगको सदस्यलगायत थुप्रै पदमा नियुक्ति पाउँदै आएकी छन्। ग्रान्डी अस्पतालमा समेत मानव अंग प्रत्यारोपण विभाग प्रमुखको जिम्मेवारीमा रहेकीले उनीमाथि नैतिक प्रश्न उठ्दै आएको थियो।
डा. शाह राज्यमन्त्रीसरहको सुविधा लिने उनी प्रधानमन्त्रीकी निजी चिकित्सक हुन्। स्वास्थ्य विभागअन्तर्गतको मानव अंग प्रत्यारोपण समन्वय समितिको संयोजकको जिम्मेवारीमा पनि उनै छिन्।
२०६७ पछि डा.गोविन्द केसीको पटकपटकको आन्दोलनका कारण आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति हुँदै आएको छ। केसीले दुई साताअघि पनि विज्ञप्ति जारी गरेर वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न आग्रह गरेका थिए।
वरिष्ठताको आधारको सूचीमा नवनियुक्त डिन शाहको नाम ३५ औं नम्बरमा छ। डा. अग्रवाल र डा.अरुण सायमीले जेठ २२ गते अवकाश पाएपछि उनको स्थान ३५ बाट ३३ मा पुगेको छ।
डा.गीता सायमी, डा. प्रेमकृष्ण खड्गाले पनि भदौ २० गते अवकाश पाउँदै छन्। त्यसपछि २०८० कात्तिकमा अनिवार्य अवकाश पाउने योगेन्द्रप्रसाद सिंह आईओएममा वरिष्ठ हुन्।