नेपाल-भारतबीच सीमा विवाद र लद्दाखको सन्देश



काठमाडौँ। नेपाल-भारतबीचको सीमा विवादले दुई देशको सम्बन्धमाथि तितो कटुता सिर्जना गरिरहेको छ।

गत वर्षको कात्तिक १६ गते भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समावेश गरेपछि दुई देशबीचको सीमा विवाद सतहमा आएको हो।

चीन र भारतबीच जारी तनावले नेपाललाई पनि असर पार्ने जानकारहरु बताउछन्। लद्दाखको सीमामा भिडन्त भएपछि विकसित घटनाक्रमका कारण भारत र चीनबीच अझै कटुता बढे नेपालमा पनि त्यसको असर पर्न सक्ने आशङ्का समेत सुनिन थालेका छन्।

असार १ गत सोमवार राति चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हुँदा कम्तीमा २० जना भारतीय सैनिकको मृत्यु भएको भारतले पुष्टि गरेको थियो। चीनतर्फ पनि केही सैनिक हताहत भएको भारतको दाबी भए पनि चीनले त्यसबारे केही बोलेको छैन।

नेपालले हालै जारी गरेको नयाँ नक्सा संविधान संशोधनमार्फत् निशान छापमा समेटिएको समयमै भारत र चीनबीच तनाव बढ्नुले नेपाल र भारतबीच विद्यमान सीमा विवादबारे सम्भावित वार्ता छायामा पर्ने विज्ञको भनाई छ।

भारत र नेपालले लिम्पियाधुरा आ-आफ्नै दाबी गरेर नक्सा सार्वजिनक गरेपछि उक्त भूमि दुई देशको अधीनस्त भूमी बन्न पुगेको छ।

बीबीसीका अनुसार नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र देखिनेगरी आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि केही भारतीय उच्च अधिकारी र विज्ञले नेपाल चीनतर्फ ढल्किएको अभिव्यक्ति दिएका छन्।

लिम्पियाधुरा क्षेत्रको विवादको घटनाक्रम

विसं २०७६ कार्तिक १६: भारतले जम्मू-कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा कालापानी समावेश।

विसं २०७६ कार्तिक २०: कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति

विसं २०७६ कार्तिक २१: भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ।

विसं २०७६ मङ्सीर ३: भारतको नयाँ नक्साबारे भारत सरकारलाई कूटनीतिक नोट पठाउँदै सुगौली सन्धि अनुसार काली ‘महाकाली नदी’ पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुनस्स्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ।

विसं २०७७ वैशाख २६: भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन।

विसं २०७७ वैशाख २७: सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबीच भएका समझदारी विपरीत रहेको नेपालको भनाइ।

विसं २०७७ वैशाख २७: भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमा भित्रै रहेको प्रतिक्रिया।

विसं २०७७ जेठ ७: नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी।

विसं २०७७ जेठ ३१: नेपालले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित।