लद्दाखमा भारत-चीन भिडन्तको भित्रि रहस्य



काठमाडौँ। सोमबार राति चीन–भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकहरुबीच निकै ठूलो घम्साघम्सी भयो। त्यस क्रममा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भएको छ भने चीनतर्फको क्षति सार्वजनिक गरिएको छैन।

चीन–भारत सीमा क्षेत्रमा सैनिक मारिएको पाँच दशकयताको यो पहिलो घटना होे। यसले भारतलाई निकै उत्तेजित तुल्याएको छ भने चिनियाँ पक्ष अपेक्षाकृत शान्त बसिरहेको छ। आफ्नो सेनाले भोगेको क्षतिको विवरण पनि उसले सार्वजनिक गर्न चाहेको छैन।

स्मरणीय के छ भने सो भिडन्तमा दुई पक्षबीच गोली चलेको थिएन। यो तथ्यलाई दुवै देशले स्वीकारेका छन्। दुई देशबीच सिमा क्षेत्रमा पटक–पटक तनाव उत्पन्न भए पनि गोली नचलेको भने पाँच दशक भइसकेको छ। दुईतर्फका सेना एक–अर्काको सीमा अतिक्रमण भएको भनेर बारम्बार झगडा गरिरहन्छन्। यसक्रममा धकेला धकेल र ढुंगामुढा हुने गर्छ। तर, गोली भने चल्दैन।

त्यसो भए धकेला धकेल र ढुंगामुढाले नै भारततर्फ यति ठूलो हताहति कसरी भयो त ? यस घटनाको सम्पूर्ण विवरण सार्वजनिक भएको छैन। तर, केही भारतीय मिडियाले एक सूत्रको हवाला दिँदै घटनाको झलक प्रस्तुत गरेका छन्। ति मिडिया रिपोर्ट अनुसार धेरै भारतीय सैनिकहरु भिरबाट तल नदीमा खसेर मारिएका हुन्।

धेरै सैनिकहरु भिरबाट चिप्लिएर तल गलवान नदीमा खसे। गलवान नदीमा खसेकाहरु हाइपोथर्मियाको शिकार भए, किनकि नदीमा पानी चिसोले जमेको थियो

गलवान घटनाक्रम

गलवान नदीको पूर्वतर्फ विवादित स्थानमा चीनले एउटा अस्थाई टेन्ट राखेको थियो। यो टेन्टभित्र चिनियाँ सैनिकहरु बस्ने गर्थे र लजिस्टिक सपोर्टको काम गरिरहेका थिए। भारतीय पक्षले सो टेन्ट हटाउन दबाव दिँदै आएको थियो।

गत १५ जूनको राति ४ देखि ५ बजेको बीचमा बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कर्नेल सन्तोष बाबु आफ्ना केही सैनिकहरुका साथ सो टेन्टमा पुगे।
उनले टेन्ट हटाएर सो स्थान खाली गर्न चिनियाँ सेनालाई चेतावनी दिए। तर, चिनियाँ सेना सो ठाउँ छोड्न तयार भएन। दुई पक्षबीच विवाद बढ्यो, धक्कामुक्की सुरु भयो। यस क्रममा भारतको बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर सन्तोष गम्भीररुपमा घाइते भए।

घाइते कमाण्डरलाई अन्य सैनिकले त्यहाँबाट उद्धार गरेर उपचारका लागि बेस क्याम्पमा पुर्याए। कमाण्डर घाइते भएपछि भारतीय सैनिकहरुको मनोबल गिर्यो। दुवैतर्फ सैनिहरु थपिँदै गए। धक्कामुक्की र ढुंगा हानाहान भयो। आधिरातसम्म उनीहरु लडिरहे।

भिडन्त भएको स्थान भौगोलिकरुपमा अलि विकट र साँघुरो थियो। धेरै सैनिकहरु भिरबाट चिप्लिएर तल गलवान नदीमा खसे। गलवान नदीमा खसेकाहरु हाइपोथर्मियाको शिकार भए, किनकि नदीमा पानी चिसोले जमेको थियो।

भिडन्त रोकिएपछि भारतीय सेनाले गलवान नदीमा खोजी कार्य सुरु गर्यो र त्यहाँ डुबेका जवानहरुलाई निकाल्यो। उनीहरुमध्ये धेरैको मृत्यु भइसकेको थियो।