फिताले होइन यन्त्रले जमिन नाप्ने सिस्टमको विकास गरेका छौं: मन्त्री अर्याल



काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन्।

मन्त्रालयको बिनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताईंन।

विगतको त्रुटीपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले धेरै खालका गुनासाहरु आउनेगरेको भन्दै मन्त्री अर्यालले ती कुरालाई मध्यनजर गर्दै नापनक्साको काम फिताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको बताईन।

उनले भनिन्, ‘गतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो। त्यसैले अब यन्त्रबाट नापनक्साको काम गरिनेछ भनेर त्यो काममा हामी अगाडी बढेका छौं। आधुनिक तरिकाबाट डिजिटल प्रणालीबाट पुनः नापजाँच गर्ने कार्य भइरहेको छ। यो सबै ठाउँमा गर्न जुरुरी पनि छ र त्यो कामको थालनी पनि भएको छ।’

सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको उनको भनाइ थियो ।सात दशक लामो भूमिहिन, सुकुम्बासी समस्याको समाधान यो सरकारले गर्ने बताउदै मन्त्री अर्यालले लामो समयदेखि रहेको भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताईन।

मुक्त हलिया, हरुवा चरुवा, कमैया, कमलहरीका समस्या पनि समाधान गर्नेगरी सरकार अगाडी बढेको भन्दै उनले बाँकी कामहरु स्थानीय तहलाई हस्तान्तरण गरेर स्थानीय तहमार्फत नै सबै समस्याको समाधान गर्ने गरी मन्त्रालय अगाडी बढेको जानकारी दिईन।

विगतमा नेपालको नक्सामा छुटाइएको नेपालको नक्सा सहितको राजनीतिक, प्रशासनिक नक्सा तयार गरी सार्वजनिक गरिएको भन्दै मन्त्री अर्यालले सरकारले यस कार्यले सबै नेपालीको स्वाभिमान उच्च भएको बताईंन।

समाजवादमा पुग्नका निम्ती सहकारी कार्यक्रम वैज्ञानिक र प्रभावकारी हुने भन्दै मन्त्री अर्यालले सहकारीको भावना, तागत, स्रोतसाधन जोडेर अगाडी बढ्न सकेमा राष्ट्र र समाजलाई यसले बदल्न सक्ने बताई। अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त जग्गा प्रशासन भन्ने नाराका साथ मन्त्रालय अगाडी बढेको मन्त्री अर्याको भनाइ थियो।