समाजभित्र ‘म’ र ‘दलित’



हाल चौतर्फि रुपमा भैरहेको जातीय विभेद र प्रतिआन्दोलनलाई नजिकबाट हेर्दै गर्दा मनमा अनेकन कुराहरु बुर्कुसी मार्दा रहेछन्। यस्तो बेलामा केही नबोली या नलेखी बस्न मन मानेन। केही नलेखि बसियो भने जीवनमा अध्ययन गरेका र जानेका सूचनाहरुमाथि उल्टै मबाट अन्याय हुन जान्छ।

नेपालमा १० वर्षे जनयुद्ध र २०६२÷२०६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रीक मुलुकका जनताहरुलाई लाग्यो अबका दिनहरुमा नेपाल विकास र समृद्धिको मार्गतिर लम्किनेछ। साथै समतामुलक समाज निर्माण, कानूनी राज्यमा समाजमा रहेका हरेक नागरिकका लागि समान अधिकार, समान नेतृत्व, समान शिक्षा, समान मौलिक हक, अधिकार, समान सम्मान आदि इत्यादि स्थापित भयो। तर, सैद्धान्तिक र व्यावहारिक रुपमा समाजले समानता पाएन।

नेपालको समाजमा रहेका विभिन्न समस्या मध्ये एउटा जडता हो जातीय विभेद। समाजमा हजारौं वर्षदेखि यो छुवाछुत जस्तो कुरिति चलिरहेको छ। यसको निर्मुलिकरण, समाधानका लागि समय समयमा विभिन्न आन्दोलनहरु भैरहन्छन्। तर त्यो सिमित कुरामा स्थगित हुन्छ र छुवाछुत ज्युँका त्युँनै हुन्छ।

पंतिकारले यो लेखलाई अगाडि बढाउनका लागि सबैभन्दा पहिले समाज भित्र ‘म’ को हुँ ? भनेर प्रश्न गर्ने बेला भएको छ। मेरो बारेमा कुरा गर्दा म के भनेर तर्क राखुँ। म दलित हुँ भनेर ? म नेपाली हुँ भनेर ? म दमाई हुँ भनेर ? म तराईको मधेशी हुँ भनेर ? म गरिब हुँ भनेर ? म बेरोजगार युवा हुँ भनेर ? म अर्धशिक्षीत विद्यार्थी हुँ भनेर ? के भनेर ?

तर, जे भने पनि मेरो तर्क मैले राख्न पाउनुपर्छ। किनकी म सर्वप्रथम मानिस (मन्युष्य) हुँ। एउटा मानिसले अर्को मानिसलाई केवल मानिस नै देख्ने हो। तर, जब त्यहाँ नाम आउँछ, तब उ नामले चिनिन्छ। जब व्यवहार उसको हेर्दछौं, तब उ राम्रो कि नराम्रो भनेर चिनिन्छ। जब जातको कुरा आउँछ, त्यहाँ उसको वर्ग, संस्कृती, रितिरिवाज, भेषभूषा आदि इत्यादि झल्काउँछ।

तर, यहाँ ठ्याकैं उल्टो छ। यो घटना २०७३ सालको हो। म एउटा कलेजमा विद्यार्थी थिए। त्याहाँ १÷२ जना बाहेक कसैलाई मेरो थर थाहा थिएन। मलाई सबैले राम्रो मान्थे, नयाँ विद्यार्थीदेिख अग्रज विद्यार्थीसम्म, कक्षा शिक्षकदेखि कलेज प्रमुखसम्म, किनभने म गीत गाउँथे, कविता लेख्थे, पढ्नमा पनि ठिकठाकै थिए। राजनीति पनि राम्रै थियो, यस्तै आदि इत्यादी कारणले म राम्रो साथीभाई, विद्यार्थी थिए।

तर, जब स्नातकतहको पहिलो वर्षको रिजल्ट आयो र म पास भए तब मेरो प्रमाण पत्रमा त्रिभुवन विश्वविद्यालयले दिपेश दमाई भनेर लेखेको थियो। त्यो दिनदेखि सबैले मेरो थर थाहा पाए र म एउटा अछुत विद्यार्थी भए। जुन माया मैले पाउँथे त्यो पाइन। म माथ थुप्रै दुःखद घटना भए र मैले अध्ययन छोडिदिए। किन भने जुन शिक्षाले मलाई ‘म’ होइनकी दमाई, दलित, मधेशी,अछुत भनेर चिनाउँछ त्यो शिक्षा म किन लिने ?

तर, विडम्बना हाम्रा अगुवाहरु, अग्रजहरु यहि शिक्षा चाहियो भनेर आन्दोलन गरिरहेका छन्। मानिसको सबैभन्दा मुल्यवान चिज केही हो भने त्यो हो आत्मसम्मान। सम्मानले नै मानिसको जीवनमा धेरै महत्व राखेको हुन्छ। सम्मान भएन भने मानौं मानिस पानि बिनाको माछा जस्तै हुन्छ। सम्मान कुनै जात वा जातिले मिल्ने कुरा होइन। यो त आफैले बनाउने वा कमाउने कुरा हो। मानिसले जति राम्रो कामगर्छ त्यति धेरै सम्मान पाउने कुरा हो। अपराधिलाई कसैले पनि सम्मान दिदैन। यो कुरा त सबैलाई थाहा छ। तर, यहाँ बुझनै गाह्रो।

कुरा २०७५ सालको हो। मेरो जीवन पहिलो चोटी श्रमसँग जोडिदैँ थियो। म काम सिक्दैं थिए। मेरो काम र सिक्ने तरिकाबाट सबै जना खुशी थिए। ग्राहकदेखि अफिसका ओनरसम्म। काम सिकीसकेपछि मेरो नामसँग एउटा श्रमको नाम पनि जोडियो दिपेश डिजाइनर। त्यो सम्मान पाएर म खुशी थिए। मेरा दिनहरु राम्रै चलिरहेका थिए। जब नेपाल सरकारले पान सिस्टम ल्यायो र कम्पनिमा तलब, भत्ता आदि सबै बैंकीङ कारोबार गर्नुपर्ने भयो तब उहाँहरुलगायत केही ग्राहकहरुले पनि मेरो थर थाहा पाए । त्यो दिनदेखि ममाथि जातीय नजरले हेर्न थालियो। धेरै पीडा भोग्नुपर्यो। त्यहाँ पनि मेरो आत्मसम्मानमागि ठेस लाग्यो। मैले त्यो कम्पनि पनि छोडि दिए।

‘तर, बिडम्बना हाम्रा अग्रजहरु, अगुवाहरु कुन सम्मानको लागि लडिरहेका छन्? दिपेश दमाई वा दिपेश डिजाइनर ? यो कुरा मैले नबुझेको हुँ वा हाम्रो अग्रजहरुलाई थाहा छैन?’

यस्ता थुप्रै घटनाहरु छन्, जुन भनेर साध्य छैन। तर, एउटा घटना जुन मैले भन्न जरुरी छ। यदि यसको अर्थ अन्यथा नलागोस्। मानिस समाजमा बसिसकेपछि जीवन चलाउन र समाज अगाडि बढाउन गर्ने पर्ने कार्य मध्ये एउटा विवाह हो। विवाहले दुई व्यक्ति जोड्नुका साथै दुईवटा समाजलाई पनि जोड्छ। जसले गर्दा ति व्यक्तिहरुको अस्तित्व स्थापित हुन्छ।

मानिसले आफ्नो अस्तित्व समाजमा कायम गर्न विवाह जस्तो सजिलो माध्यम वा पद्धति बनाएको छ। जुन प्रशंसा योग्य छ। यस कार्यले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै आफ्नो अस्तित्व निर्माण गर्ने ठाउँ दिन्छ। मानिसको लागि अस्तित्व बनाउने थुप्रै माध्यमहरु मध्ये सजिलो र विश्वासनिय माध्यम मलाई यहि लाग्छ। यसलाई दुईवटा समाजको जोड्ने विन्दुभन्दा फरक पर्दैन।

विवाहले मानिसलाई एकले अर्काको सँस्कृति बुझ्ने, सद्भाव मेलमिलाप गर्ने, मौलिक संस्कार र सँस्कृति बुझ्ने मौका दिन्छ। यो सबैले गर्नैपर्ने वा मानैपर्ने चलन वा कुरा हो। मानिसहरुले एकले अर्कालाई बुझ्नपर्छ अनि समाज विकासित हुन्छ र नयाँ समाजको उदयहुन्छ। हाम्रो देश, समाजको कुरा गर्दा ठ्याक्कै उल्टो छ।

यो घटना २०७५ सालको अन्तिम तिरको हो। मेरो जवीन संगिनी नेपालको पुर्व इलामको हुनुहुन्छ। वहाँसँग विवाह हुनुभन्दा पहिला हामी उहाँको (माइती) घर गयौं। त्यहाँ हाम्रो स्वागत सोचेभन्दा राम्रो गर्नुभयो। उहाँहरुले पूर्वेली सभ्यता, संस्कृती वुझ्ने मौका दिनु भयो। त्यहाँको रहनसहन, भेषभूषा आदि इत्यादी बुझ्ने मैले राम्रो मौका पाए। उहाँहरुले पनि पश्चिमको मान्छे भनेर राम्रै व्यवहार गर्नु भयो।

उहाँहरुले पश्चिमेली भनेर पश्चिमको रितिरिवाज, संस्कृति, संस्कार आदिको बारेमा मसँग सोध्नु भयो र मैले जाने बुझेको जति बताए। उहाँले छोरा जस्तै गर्नु भयो। मलाई लाग्यो हाम्रो देशको पूर्वमा विकासित सोचभएका मानिसहरुको समाज रहेछ। तर, जब विहेको कुरा भयो, त्यहाँ चिना मिलाउने समय आयो र चिनामा नाम, थर सोधियो मैले पनि ढुक्कसँग दिपेश दमाई भने।

त्यसपछि भने अलि अगाडिको मेरो मूल्याङ्कनले हावा खायो। उहाँहरुले विहेको लागि सिधै हुन्न नभने पनि उहाँहरुले भन्नु भयो ‘भाई हामी यो समाजमा बस्नुपर्छ, भोलि गएर यो समाजमा हाम्रो घरमा दाजुभाई आउन छोड्छन्। हाम्रो घरको पानि छोड्छन्। हामीलाई समाजले बहिस्कार गर्छ। यो सुनेर मलाई थाह भयोकी वास्तवमा यो छुवाछुत कुनै व्यक्तिको वा कुनै ठाउँको कुरा होइन यो त त्यो थरको कुरा हो जुसले म अछुत हुन्छु। अछुत रहेछु।

 दलित भनेको के हो ?

अब कुरा गरौं समाजभित्र दलितको । के हो यो दलित भनेको ? कसले बनायो यो दलित शब्द ? कसले निर्माण ग¥यो दलित वर्ग ? मेरो अध्ययन र मेरो विचारमा यो शब्द कोलम्बिया युनिभर्सिटी र अक्सफोर्ड युनिभर्सिटीले खोजी गरेको शब्द हो। जसको अर्थ समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरुलाई दिइएको उपशब्द हो। यो शब्द कुनै जाति विशेषलाई दिइएको शब्द होइन।

युरोपमा जब गुलामहरु किनबेच गरिन्थ्यो वा अमेरिकामा कालाजातिहरुलाई किनबेच गरिन्थ्यो त्यो बेला भएका विभिन्न आन्दोलहरुले तिनिहरुलाई स्वतन्त्र बनायो र त्यहाँका विद्धानहरुले दलित शब्द निमार्ण गरे जुन समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरु समाजमा स्थिापित गर्न, एककृत गर्न प्रयोग गरिन्थ्यो। अहिले त्यो युरोप तथा अन्य मुलुकमा त्यत्ति प्रचलनमा छैन।

तर, जब यसको बारेमा भारतीय संविधानका पिता मानिने डा.भिम राव ‘रामजी अम्बेडगर’ ले अध्ययनको क्रममा आफ्नो थेसिस (भारतमे जातिप्रथा) मा छुवाछुत गरिएको जातिलाई प्रतिविम्ब गर्ने शब्द ‘दलित’ को प्रयोग गर्नु भएको थियो। नेपालमा विस २०२४ सालमा सहर्षनाथ कपालीले दलित शब्दलाई आधिकारिक रुपमा प्रयोगमा ल्याएका थिए। जुन अहिले सबैले प्रयोग गर्छन्।

भारतको आजाद भारत आन्दोलनको बेला डा.अम्बेडकरले यो छुवाछुत प्रथा हटाउन दलित शब्दको प्रयोग गरेर आन्दोलन गर्नुभयो। जसले एकहदसम्म छुवाछुत पिडितहरुलाई राहत मिल्यो। तर, बिडम्बना केही आरक्षण कोटा र केही राजनैतिक सिट दिएर आन्दोलन तुहाइयो। डा.अम्बेडगर जे जति गरे पनि छुवाछुत हट्ने स्थिीति नभएपछि धर्म परिवर्तन गरेर बुद्ध नीति मानेर आफ्नो चित्त बुझाउन बाहेक अरु विकल्प रहेन। डा. अम्बेडगरको मृत्यु पश्चात भारतका हर कार्यालयका भित्ताहरुमा उहाँको फोटो टाँगने काम गरियो।

नेपालको सन्दर्भमा पुर्खौदेखि चलिआएको यो कुरिति छुवाछुतको मुल जरा हिन्दुधर्मको स्मृतीभित्र रहेको मनुस्मृती हो। मैले यस्तो भनिरहँदा धर्म विरोधी, डलरबादी क्रिसियन भनेर भन्नु होला। तर, म सफा रुपमा के स्पष्ट पार्न चाहान्छु भने, म सनातन धर्ममान्छ। तर, हिन्दुधर्म होइन। कसरी मान्नु मान्दीन। डा. अम्बेडकरको थेसिस (भारतमे जातिप्रथा) अनुसार हिन्दु भनेको हिमालयबाट र सिन्धुघाटिँबाट आएका मानिसहरु भारतमा बसोबास गरेकाले ब्रिटिसहरुले हिन्दु भनेका हुन्। यदि हामी हिन्दुधर्म मान्ने हो भने हामी स्वत भारतीय नागरिक हौं भन्दा केही फरक पर्दैन।

यदि यस्तो हो भने नेपालमा मानिने धर्म नेपाली धर्म हो। तर, हाम्रो धर्म सनातन धर्म हो। जसमा दुईटा भाग छ, पहिलो श्रुती (बेद, उपनिषद) जुन ऋषिमुनीहरुले तपश्याबाट प्राप्त ज्ञानहरु लेखेका हुन्। दोस्रो स्मृती (महाभारत, भगवतगीता, रामायण, पुराण, मनुस्मृति) जुन मानिसहरुले लेखेका हुन्। र हामीलाई हाम्रै धर्मबाट टाढा राखियो। किन भने पहिलेदेखि नै हामीलाई श्रुतिको ज्ञान दिईएन। केबल स्मृतिको ज्ञान दिइयो। हाम्रो समाजमा मनुस्मृति जस्ता अधार्मीक किताबहरु घोकाइयो जसको परिणाम अहिले तपाई हामीले भोग्नु परेको छ। जस्को कारणले हामी अछुत भएका छौं। जसको कारणले सनातन धर्म धमिलो भएको छ।

र यहाँ मैले भन्न खोजेको कुरा हामी पौडिखेल्न सक्छौं भनेर समुन्द्रमा हाम फालिरहेका छौं। जुन एकदम गलत छ। समुद्रमा जानको लागी हामी पहिला तयारी गर्नु जरुरी छ। मान्छेको जात मान्छे मात्रै हो भन्ने सर्वव्यापि सत्य र मान्तयतालाई अनुसरण गर्न जरुरी छ। सोच, सीप र व्यवहारमा परिवर्तन आउनुपर्छ।

(लेखक चौधरी ग्राफिक डिजाइनर हुन्।)