‘इज्जत र चरित्रको प्रमाण महिलाले मात्रै पेश गर्नुपर्ने ?’



काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले कैलालीमा हालै भएको सामूहिक बलात्कार घटनाको विषमा मुख खोलेकी छन्।

समाजमा घट्ने हरेक घटनाहरुसँग नजिक रहेर आफ्नो प्रतिक्रिया दिने सामथ्र्य राख्ने नायिका थापाले कैलालीको क्वारेन्टीनमा भएको सामूहिक बलात्कारको घटनाले गम्भीर सन्देश दिएको टिप्पणी गरेकी छन्।

सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत सरकारी क्वारेन्टिनमा रहेकी महिला सरकारी स्वयंसेवकहरुबाटै सामूहिक बलात्कृत हुनुले समाज र सुरक्षामाथि कस्तो सन्देश दिइरहेको छ ? भन्दै प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, ‘क्वारेण्टाइनमा सरकारले बसाल्ने, सरकारका मान्छे र स्वयम्सेवक गएर महिलामाथि सामूहिक बलात्कार गर्ने ? कैयौ महिनादेखि अर्काको देशमा बसेर दुःख सुख गरी दुई चार पैसा बोकेर मातृभूमी फर्केकी महिलामाथिको बलात्कारले हाम्रो समाज र सुरक्षा ब्यवस्थाबारे के सन्देश दिइरहेको छ ?’

उनले नेपाली महिलाहरु सरकारबाटै असुरक्षित रहेको टिप्पणी गरेकी छन्। अगाडि लेखेकी छन्, ‘महिलाहरु सरकारको आगनमा सुरक्षित छैनन्। राजनीतिदेखी परिवारभित्र सुरक्षित छैनन्। किन ? किनकी इज्जत र चरित्रको प्रमाण महिलाले मात्र पेश गर्नुपर्छ। त्यसलाई जोगाउने काम महिलाहरुको एक्लो दायित्व जस्तै भएको छ।

युद्द, महामारी, भुकम्प र आम जीवनमा महिलाले आफूलाई आँफै जोगाउनु पर्ने ? यो कस्तो बाध्यता हो ? बलात्कारी र क्वारेण्टाइनमा बसाल्नेहरुको नैतीकताबारे कुनै प्रश्न उठदैन। खै कहाँ छन, अधिकार र सुरक्षाका प्रत्याभुती ?’

गत आइतबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृती माविको क्‍वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलालाई स्वयं सेवककै रुपमा खटिएका तीन जनाले आफूलाई बलात्कार गरेको बताइकी थिइंन्।