काठमाडौँ। राष्ट्रिय जनमुक्ति पार्टीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नगर्न चेतावनी दिएको छ।
एमसीसी कम्प्याक्टमा राष्ट्रिय हित र सार्वभौमसत्ताका विरुद्धमा रहेको दाबी गर्दै उक्त पार्टीले सत्तारुढ दल र प्रतिपक्षि दललाई संसदबाट पास नगराउन चुनौति दिएको हो।
‘नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसीसी सार्वभौम संसद्ले अनुमोदन गर्नुहुँदैन’ जनमुक्ति अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा संसदमा भएका सबै दलहरूलाई खबरदारी र ध्यानकर्षण गर्न चाहन्छौं।’
लिम्पियाधुरा सहितको नक्सा संसदबाट पारित हुनुलाई आफ्नो पार्टीले स्वागत गरेको पालुङ्वाले उल्लेख गरेका छन्। कोभिड–१९ महामारी निराकरणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसेको जनमुक्ति पार्टीको ठहर छ।