काठमाडौँ। जनता समाजवादी पार्टीले संविधानको दोस्रो संशोधनका विषयलाई लिएर विवादीत बनेकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ।
नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ।
‘समाजवादी पार्टीका एक नेताले भने, ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो। पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। ‘उहाँले पार्टीको ह्वीप मान्नुभएन, त्यसैले स्वत: कारवाहीमा पर्नुहुन्छ। हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं। उहाँले पार्टीको निर्देशन मान्नु भएन।’
अनलाईन खबरका अनुसार पार्टीका नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्याटसमेत हटाइने र सांसद पद स्वतःनिलम्वनको जानकारी संसदलाई गराइने स्रोतले बतायो।
संविधानको धारा ८९ को ‘ङ’ मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ। समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद हुन्।