काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ।
यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ। उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन्।
दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७/१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो।
यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३/३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २/२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १/१ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो।