कोरोना अपडेट: १८ जनाको मृत्यु, पाँच हजार ३ सय ३५ संक्रमित



काठमाडौँ। पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जना, सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो।

यस्तै, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ। उनीहरूमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन्।