नेपालको संविधान दोस्रो संशोधन-२०७७ सर्वसम्वत पारित



काठमाडौँ। नेपालको राजनीति तथा प्रशासनीक नयाँ नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइभन्दा बढी मतले पारित भएको छ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो।

शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेको छ। संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो।

जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन। २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे।

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ। नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो।

ऐतिहासिक निर्णयसँगै नेपाली जनताहरुमा खुशी छाएको छ। लिम्पियाधुरा क्षेत्रको जमिन समावेश जमिनलाई समेटेर नक्सा जारी गरेको र जमिन फिर्ता ल्याउनका लागि सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरुको एकता देखिएको छ।