बम राखेर भाग्दै गरेका विप्लव नेकपाका नेता महर्जन पक्राउ


काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता ललितपुरको पुल्चोकबाट पक्राउ परेका छन्।

शुक्राबार विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनले राखेको सकेट बम भएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए।

पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ। उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।