कोरोनाबाट १६ जनाको मृत्यु, संक्रमितको संख्या पाँच हजार नाघ्यो



काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए।

ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए। त्यस्तै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।