अमेरिकी ब्लगरद्वारा पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप



सिन्थिया रिची र पाकिस्तानका पूर्वप्रधामन्त्री युसुफ रजा गिलानी

काठमाडौँ। पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरुमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन्।

पाँच जुनको दिन सिन्थियाले आफ्नो फेसबुक भिडियो लाइभमार्फत् पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्री बनेका रहमान मलिकले आफूलाई सन् २०११ मा बलात्कार गरेको बताएकी छन्।

साथै उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीले आफूमाथि जबर्जस्ती गर्न खोजेको गम्भीर आरोप पनि लगाएकी छन्। इस्लामावादमा ऐवान–ए–सदर ‘पाकिस्तानको राष्ट्रपति निवास’मा गिलानीलाई भेट्दा, गिलानीले आफूलाई जबरजस्ती गर्न खोजेको उनको आरोप छ।

ब्लगर सिंथियाले पूर्वस्वास्थ्यमन्त्री शहाबुद्दिनमाथि पनि जोर जबरजस्ती गरेको आरोप लगाएकी छन्। शहाबुद्दिन पनि पाकिस्तान पिपुल्स पार्टीकै नेता हुन्।

उनले आफ्नो भिडियोमा आफूमाथि भएको यौन हिंसाको बारेमा विस्तारमा जानकारी पनि दिन सक्ने बताएकी छन्। तर भिडियो बालबालिकाहरुले पनि हेर्ने भएकाले सबै कुरा अहिले भन्न नसक्ने उनको भनाइ छ। यद्यपि उनले निष्पक्ष र खोजी पत्रकारहरुलाई यसबारे विस्तारमा जानकारी दिन आफू तयार भएको बताएकी छन्।

आफ्नो फेसबुक पेजमा उनले लेखेकी छन्, ‘यो घटना पाकिस्तानको राजधानी इस्लामावादको मिनिस्ट्रियल एनक्लेवमा रहेको गृहमन्त्री निवासमा भएको थियो। यो सन् २०११ को घटना हो। त्यही दिन ओसामा विन लादेन अमेरिकी कमाण्डोबाट पाकिस्तानको एबटावादमा मारिएका थिए। मलाई लाग्यो गृहमन्त्रीसँगको भेटवार्ता शायद मेरो भिसाको विषयमा होला। तर मलाई फूल र यस्तो पेय पदार्थ दिइयो, जसमा नशालु औषधि मिसाइएको थियो। म चूप रहेँ किनभने पाकिस्तान पिपुल्स पार्टीको सरकारमा आदिर को थियो र जो आफ्नो गृहमन्त्रीविरुद्ध उत्रिएर मेरो सहयोग गर्न सक्ने। हालै उनीहरुले मेरो परिवारलाई निशाना बनाए।’

‘सन् २०११ मा नै मैले मसँग भएका घटनाको बारेमा अमेरिकी दूतावासमा कसैसँग भनेको थिएँ। तर त्यो बेला अवस्था एकदम नाजुक थियो। अमेरिका र पाकिस्तानबीच पेचिलो सम्बन्धका कारण मेरो गुनासोमा अमेरिकी दूतावासका ती अधिकारीले खासै चासो दिएनन्। पाकिस्तानमा मेरो कुराकानी एक शानदार व्यक्तिसँग भयो। अब उनीसँग मेरो इङ्गेजमेन्ट पनि भइसकेको छ। उनले आफूसँग भएका सबै कुरा दुनियाँलाई जानकारी देऊ भनेर मेरो हौसला बढाए। ताकि हामी एक युगलको रुपमा जिन्दगीलाई अगाडि बढाउन सकौं।’

‘यस्ता धेरै कुराहरु छन्, जो म भन्न चाहान्छु। तर हाल मलाई आराम गर्न केही समय चाहिएको छ। म एक्लै मेरो जोडासँग बस्न चाहान्छु। म थाकिसकेकी छु। मैले पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व र बिलावल भुट्टो जरदारीसँग अपिल गरें– उनको पार्टीका मान्छेहरुले म र मेरो परिवारलाई एक्लै छाड्दिउन्।’

‘आगामी हप्ता म कानुनको सामना गर्न र कुनै पनि अनुसन्धानकर्तासँग भेट्न तयार छु। तर अहिल म सबैसँग अनुरोध गर्दछु कि मेरो गोप्यताको सम्मान गरियोस् र मलाई एक्लै छाडिदिइयोस्।’

अमेरिकी ब्लगर सिन्थिया रिचीले लगाएका आरोपमा पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले कुनै सत्यता नभएको बताएका छन्। उनीहरुले सिन्थियाको उद्देश्यमाथि पनि प्रश्न उठाएका छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीले सिन्थियाको आरोप निराधार र असत्य भनेका छन्।

सिन्थिया रिचीले आफूलाई लेखिका, फिल्म निर्माता र ब्लगरको रुपमा चिनाउँछन्। उनको सन् २००९ मा पहिलो पटक पाकिस्तान आएकी उनको सम्बन्ध पाकिस्तानका उच्च नेता र सुरक्षा अधिकारीहरुसम्म छ।

उनले गत मे २८ मा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोमाथि पनि गम्भीर आरोप लगाएकी थिइन्। उनले लेखेकी थिइन्– बेनजिर भुट्टोले आफ्ना सुरक्षा गार्डहरुमार्फत् ती महिलाहरुमाथि बलात्कार गराउँथिन्, जुन महिलासँग उनको पति आसिफ अलि जर्दारीको सम्बन्ध हुने गर्दथ्यो। उनको यो ट्वीटपछि जनताले प्रमाण पेश गर्न सिन्थियालाई भने तर सिन्थियाले अहिलेसम्म त्यससम्बन्धी एउटा पनि प्रमाण सार्वजनिक गर्न सकेकी छैनन्।