राष्कोट नगरपालिकाको कार्यालयमा तालाबन्दी



कालिकोट। जिल्लाको राष्कोट नगरपालिका वडा नम्बर पाँचका स्थानीयले खानेपानी उपभोक्ता समिति गठनको विषयलाई लिएर नपाको कार्यालयमा तालाबन्दी गरेका छन्।

नपाको आरसीपी बजार वृहत्त खानेपानी उपभोक्ता समिति गठन गर्दा वडा पालिकाले आफ्ना वरिपरिका मान्छेहरुलाई राखेको भन्दै आन्दोलित बनेका स्थानीयले बिहीबार नपाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

एक स्थानीय भावना शाहीका अनुसार नपाको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको हो। उनले पहिलो उपभोक्ता खारेज, खाता रोक्का र सामाजिक सुरक्षा भत्ताको श्रेता जान्न पाउने सूचना हकमाथि नपाका मेयर काशिचन्द्र बरालले व्यवास्ता गरेको भन्दै नपाको कार्यालयमा तालाबन्दी गर्न बाध्य बनेको बताईंन्।

उक्त उपभोक्ता समितिका बारेमा वडा नम्बर पाँचका जनतालाई गुम्राहमा राखेको र मनपरी ढंङ्गले आफ्ना मान्छेहरुलाई समितिमा राखिएको भन्दै ४५ जना युवाहरुले जेठ २३ गते वडा कार्यालयमा ताला लगाएका थिए।

त्यस्तै अर्का स्थानीय ध्वजबहादुर शाहीले पटकपटक ध्यानार्कष गराउँदा पनि आफ्ना कुराहरुलाई व्यवस्था गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताएका छन्। उनका अनुसार चार बुँदे मागसहित तालाबन्दी गरिएको हो।

विधिवत रुपमा समिति गठन गर्नुपर्ने, विकासका योजनाहरुमा स्थानीयसँग परामर्श गर्नुपर्न, अवैज्ञानिक समित खारेज गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ताको श्रेता उपलब्ध गराउनुपर्ने लगायतका माग राखिएका छन्।

हाल सुर्खेतमा रहेका नपाका मेयर बरालाले यस विषयका बारेमा विस्तृत रुपमा आफूलाई जानकारी नभएको र थप जानकारी लिने बताएका छन्। उनले भने, ‘म कामको शिलसिलामा सुर्खेत आएको छु। हिजो नपाको कार्यालयमा तालाबन्दी गरिएको खबर पाएको छु। यसका बारेमा थप बुझ्छु।’

त्यस्तै उपमेयर मिमसरा शाहीसँग यस विषयका बारेमा जान्न खोज्दा आफू केही दिन अघि टिपर दुर्घटनामा परी घाइत भएका बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न र विपद समितिको वैठकमा भाग लिन जिल्लाको सदरमुकाम मान्नमा रहेको जानकारी दिएकी छन्।

तस्बिर: जीवन कुमार शाही