सरकारी भाडादर खारेज, २११ डलर कममा ३ सय नेपाली स्वदेश फर्कंदै



काठमाडौँ। विदेशमा अभर परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ।

ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर (अर्थात करिब ६२ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ।
तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ।

दूताबास भन्छ, ‘सरकारले तोकेको ६२ हजार भाडा धेरै महंगो भयो, वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न सक्दैनन्। त्यसैले हामीले ११५ ओमानी रियल (करिब ३४ हजार नेपाली रुपैयाँ) मै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं। यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन।’

ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ। र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको छ।

अनलाईन खबरका अनुसार ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन्। त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन्। उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ।

साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ।