(एनआरएनए) को सहयोगमा पाँच सय ११ जना नेपाली स्वदेश फिर्ता



काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार भएको जनाएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत सरकारको सहयोगमा २९९ जना नेपाली स्वदेश फर्किएका छन्।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ। गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो।

तस्बिर: दुर्लव थापा मगर 

एनआरएनएसँगको समन्वयमा अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार भएको संघले जनाएको छ।

कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो।

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ। कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन्।