काठमाडौँ। गत चैत ११ गतेदेखि जारी लकडाउन खुकुलो बनेसँगै देशभर सरकारका विरुद्धमा प्रदर्शन भएका छन्।
बिहीबार प्रर्दशनकारीहरुले कोरोना नियन्त्रण गर्न नसकेको, आरडिटी परिक्षण रोक्नुपर्ने, कमिसन र अनावश्यक कर हटाउन सरकारका विरुद्धमा नाराबाजी गरेका छन्।
कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो।
काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो।
बालुवाटारमा प्रदर्शन
बिहीबार सरकारका विरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चर्को विरोध प्रदर्शन भएको छ। विरोध प्रदर्शनमा उत्रेका प्रदशनकारीहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ।
लकडाउनपछि पहिलो पटक सरकारका विरुद्ध हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा ओलिएका छन्। उनीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने, हाम्रो नेपाल हाम्रो सान, कसले खायो अनुदानलगायतका नारा लगाएका छन्।
उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस्तै सरकारका विरुद्धमा संघीय राजधानी काठमाडौँभन्दा बाहिरका विभिन्न जिल्लामा पनि प्रदर्शन भएका छन्।
विराटनगरमा नाराः ‘सरकार कि जाग कि भाग’
कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शनी भएको छ। प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन्।
प्रदर्शनकारीले १० अर्ब खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड आदि लेखिएको प्लेकार्ड बोकेका थिए। बिहीबार र्याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन्।
बिहीबार स्वतस्फूर्त रुपममा सडकमा निस्किएका युवाहरुले प्रदेश मुख्यमन्त्रीको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी
कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ। पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।
प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन्। नाराबाजी गर्नेहरुले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ।
वीरगञ्जमा पनि प्रर्दशन
बारामा एक घर, कम्तिमा एक आरटी पीसीआर टेस्ट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको छ। फेटा गाँउपालिका–१ का युवाहरुले भलुही चौकमा बिहीबार बिहान प्रदर्शन गरेका हुन्।
सरकारले नयाँ टेस्टिङ गाइडलाइन सार्वजनिक गरेको छ। जसमा क्वारेन्टिनमा १४ दिन बसेकालाई समेत आरडीटी टेस्ट गरेर घर पठाउने भनिएको छ। सोही अनुसार कामहरु पनि भइरहेका छन्। तर सर्वसाधरण भने यसबाट असन्तुष्ट छन्। समुदाय स्तरमा पनि पीसीआर परीक्षण हुनुपर्ने माग उनीहरुको छ।