‘कमजोरी भएको निष्कर्ष निस्कियो भने कारबाही भोग्न तैयार छु’



काठमाडौँ। अनेरास्ववियूका केन्द्रीय सदस्य तथा कार्यालय प्रमुख नरेश रेग्मीले आफ्नो तर्फबाट गल्ति भएको निष्कर्श निस्कियो भने जुनसकुै कारबाही भोग्न तयार रहेको स्पष्ट पारेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता रेग्मीले एमसीसीका बारेमा जारी गरिएको प्रेस विज्ञप्तिलाई लिएर केही प्रश्न उठेको तर्फ संकेत गर्दै उक्त कुरा बताएका हुन्।

उनले लेखेका छन्,‘केही साथीहरुले ममाथि सार्वजनिक रूपमा विभिन्न प्रश्न उठाउनु भएको छ। संगठनको मायाले गरिएका सबै प्रश्नहरुको हार्दिक सम्मान गर्दछु। थाहा नभएको विषयमा संगठनको हरेक सदस्यले प्रश्न उठाउन पाउनुपर्छ।

केही साथीहरुले संगठनको विधि र पद्धतिको विषयलाई लिएर आलोचना गर्नु भएको छ। स्वस्थ मनले गरिएका आलोचनाहरुलाई हार्दिक स्वागत गर्दछु। विधि र पद्धतिको विषयमा आलोचना हुनु अत्यन्त सकारात्मक पक्ष हो। प्रतिक्रिया व्यक्त गर्नु भन्दा पहिला विषयको अन्तरवस्तु बुझ्न केही धेरै साथीहरुले फोन र मेसेज मार्फत जिज्ञासा राख्नु भएको छ। यो निकै राम्रो शैली हो। वहाँहरुलाई विशेष धन्यवाद छ।’

नेता रेग्मीले आफूबाट गल्ति भएको पुष्टि भएको खण्डमा कुनै आरोप प्रत्यारोप नगर्ने बताएका छन्। उनले लेखेका छन्, ‘मबाट गल्ती भएको हो भने आफ्नो कमजोरी छोप्न आरोप-प्रत्यारोप गर्ने छैन। प्रश्न उठेको विषयहरुमा ढाकछोप गर्ने छैन। म माथि उठेका प्रश्नहरु संगठनको आन्तरिक विषयसँग बढी सम्बन्धित भएको हुनाले संगठन भित्र जहाँ जहाँ जवाफ दिनु पर्ने हो त्यहाँ दिनेछु। घटनाको विकासक्रम लामो छ। बाहिर छताछुल्ल बनाउँदिन। फ्याक्स कमिटी वा संयोजक/सह-संयोजकप्रति सधै जवाफदेही छु।’

उनले अगाडि लेखेका छन्, ‘विगत ७/८ महिना देखि संयुक्त केन्द्रीय कार्यालयको साँचो, लेटरप्याड र छापको जिम्मा, कम्युटर र इमेलहरुका पासवर्ड, महत्वपूर्ण कागजपत्र, कार्यालयको मासिक खर्चको हिसाब/किताब, नयाँ पुराना डकुमेन्ट जस्ता संवेदनशील विषयहरुको अन्तरिम जिम्मा मैले संयोजकरसह(संयोजक दुबैको उपस्तिथिमा जसरी पाएँ त्यसरी नै फिर्ता गर्न मलाई कुनै समस्या छैन।

नयाँ जिम्मेवारी नटुंगिदासम्म अन्तरिम काल कै लागि भए पनि यस्तो संवेदनशील जिम्मा मलाई यत्तिकै दिइएको पक्कै पनि होइन होला। एक पल्ट यसरी पनि सोच्न आग्रह गर्न चाहन्छु। विज्ञप्तिसँग जोडिएका विषयहरु अरु पनि छन्। औपचारिक छलफल र सम्वाद हुने भयो भने के, किन, कसरी सबै खुलाउनेछु। म विश्वस्त छु कि मैले जे गरेँ ठिक गरेँ। तै पनि मबाट कमजोरी भएको निष्कर्ष निस्कियो भने कारवाही भोग्न तैयार छु।’

अमेरिकी सहायता संस्था मेलिनियम च्यालेन्ज कप्रोरेशन (एमसीसी) का विरुद्ध प्रदर्शन भइरहेका छन्। नयाँ बजेटमा एमसीसी समावेश गरिएको र संसदबाट पास गर्ने सरकारको तयारीलाई लिएर विभिन्न संघ संस्थाहरुले विरोध गरिरहेका छन्।

यसै क्रममा अनेरास्ववियूका नेताहरु पनि एमसीसीको विरुद्धमा सडकमा ओर्लिएका थिए। उनीहरुमाथि प्रहरीले लाठि चार्जगर्दा केही घाइते समेत भएका थिए। उक्त विषयलाई लिएर नेता रेग्मीले विज्ञप्ति जारी गरेका थिए।