एसइई परिक्षा: आन्तरिक मुल्यांकनबाटै मार्कसिट



काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ।

मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ  मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयार गरिएको हो। उक्त प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले चाँडै निर्णय गर्ने छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताएका थिए।

कोरोना रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका विषयमा सरकारले लिने नयाँ रणनीतिसँगै परीक्षाका विषयहरुमा निर्णय हुन लागेको हो।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो।