वीरगन्ज। वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ। बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो। गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ।
वीरगन्ज महानगरपालिका वडा नं २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिए।
एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो।
प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन्।
पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए।