दोस्रो संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती



काठमाडौँ। नेपालको भूमि अनुसारको नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ।

विधेयक स्वीकृत भएको सभामुखले घोषणा गर्दा सांसदले लामो समय टेबल ठोकेर समर्थन गरेका थिए। विधेयकको स्वीकृतीसँगै संशोधनका लागि अगाडि बढेको छ। अब सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन्।

त्यसअघि प्रतिनिधिसभामा सांसदहरुले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो। त्यस्तै मधेश केन्द्रीत दुई दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो।

समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय बाह्य र आन्तरिक हुने भएकाले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा आफ्नो पार्टी रहेको बताएका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संशोधनको पक्षमा आफ्नो पार्टीले केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराएका थिए।

कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयकको छलपलमा जवाफ दिने क्रममा दलहरुबीच एक मत देखिएकोमा खुसी व्यक्त गरिन्। उनले नेपालले अब भूमि फिर्ता लिने र त्यसको भोगचलन समेत गर्ने बताइन्। सरकारले गत जेठ १८ गते प्रतिनिधि सभामा संविधानको दोश्रो संशवधन विधेयक पेश गरेको थियो।