बंगलादेशबाट पहिलो उडानमा दुई सय ६५ जना नेपाली स्वदेश फर्किने



काठमाडौँ। बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपाली स्वदेश फर्किने भएका छन्।

सोमबार पहिलो उडानमा नेपाल आउने यात्रुको नामवाली तय भएको छ। जसमा अधिकांश चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी र नेपाली सेना रहेका छन्।

ती विद्यार्थीहरुले नेपालमा लकडाउन भएको समय देखि नै उद्दारको अपिल गरेका थिए। कर्णाली सन्देश मार्फत निरन्तर उनीहरूका माग र क्रियाकलाप प्रकाशित गर्दै आएको थियो।

विद्यार्थी हकहित र अधिकारको बारेमा काम गर्दै आएका सामाजिक अभियन्ता नवीन यादवको सक्रियतामा स्वदेश फिर्तीको मागसङ्ग बिद्यार्थीहरु डिजिटल रिले अनशनसमेत बसेका थिए।

ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड-१९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ।

नेपाल आउनको लागि १९ हजार ९ सय ५८ रुपैयाँ तोकिएको छ। यात्रुले नेपालमै टिकट खरिद गर्नु पर्नेछ।

बंगलादेशबाट नेपाल फिर्नको लागि ८६० जनाले आवेदन दिएका छन्।

दूतावासले दोस्रो उडानको लागि पनि सूची बनाइसकेको जनाएको छ।