सीमा विवादबारे भारतले गर्यो चीनसँग वार्ता, नेपालसँग आलटाल



काठमाडौँ। भारतले नेपालसँगको सीमा विवादलाई ‘समाधान गर्नुपर्ने विषयलाई आलटाल गरिरहेको छ। भारतसँग यथेष्ट प्रमाण नभएकाले वार्ताबाट भागेको हो कि भन्ने आशंका बढ्न थालेको छन्।

नेपालले सीमा विवादका बारेमा वार्ताका लागि पटकपटक प्रस्ताव गर्दा पनि भारतले ‘कोभिड–१९’ को महामारी सकिएपछि मात्र छलफल गर्ने हल्का जवाफ दिएको छ।

रातोपाटीका अनुसार पछिल्लो समय दुई देशबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभागका बारेमा विवाद चुलिएकोमात्र होइन, यी भूभागलाई नेपाल र भारतले आ–आफ्नो नक्सामा समेटेका छन्।

यो अवस्थामा समाधानका लागि वार्ता नै उपयुक्त विकल्प रहेको विज्ञहरु बताउँछन् । तर वार्ताका लागि नेपालले गरेको प्रस्तावलाई भारतले टार्दै आएको छ । भारतले यसअघि नै नेपालसामु वार्ताका लागि शर्त राखिसकेको छ । शर्तका रुपमा भारतले घुमाउरो पाराले नेपालद्वारा जारी नक्सा फिर्ता लिन दबाब दिएको देखिन्छ ।

कोरोनाकै बीच चीनसँग वार्ता

भारतले कोरोना कहरकैबीच चीनसँग सीमा मुद्दामा वार्ता गरेको छ। पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखामा जारी विवाद समाधानका लागि भारतले चीनसँग सैनिक तहमा कोरोना कहरकै बीचमा वार्ता गरेको हो।

भारतीय विदेश मन्त्रालयका अनुसार शनिबार भएको वार्ता सीमा समस्या समाधान केन्द्रित हुनका साथै निकै ‘सकारात्मक’ भएको छ। त्यसो त चीनसँग सीमा मुद्दामा तत्काल वार्तामा बसेर सहमति निकाल्नु भारतका लागि बाध्यात्मक भइसकेको थियो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केही सातादेखि सो क्षेत्रमा भारत र चीनका सेनाबीच तनाव बढेको थियो।

सीमा विवादकै बीच चिनियाँ सेनाले भारतीय सेनाको एउटा गस्ती टोलीलाई दिनभर नियन्त्रणमा लिएर छाडेको, सीमा क्षेत्रमा बढ्दो तनावकै बीच भारतीय सेनाले उत्तेजक गतिविधि गर्न थालेपछि चिनियाँ सेना भारतीय क्षेत्रमा प्रवेश गरेको र भारतीय क्षेत्रमा भइरहेको निर्माणसम्बन्धी गतिविधिमा रोक लगाएको जस्ता समाचार पनि बेलाबखत प्रकाशमा आएका थिए।

यतिमात्र होइन, विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत सरकारलाई चिनियाँ सेना भारतीय भूमिमा आएर कब्जा जमाएको छैन भनेर विश्वास दिलाउन सार्वजनिक रुपमै आह्वान गरेका थिए।

भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल एचएस पनागले लद्दाख क्षेत्रका तीन भागमा चिनियाँ सेना भारतीय क्षेत्रमा प्रवेश गरेको र कब्जा जमाएर बसेको खुलासा गरेका थिए। उनले भारतको केन्द्र सरकारले यो वास्तविकतालाई स्वीकार गर्न नचाहेको तथ्यलाई अन्यत्रै मोडेर प्रचार गरिरहेको आरोपसमेत लगाएका थिए।

उनकै लेखको लिंकलाई ट्वीट गर्दै राहुल गान्धीले केन्द्र सरकारसँग जवाफ मागेका थिए। यसबाट पनि भारत र चीनबीच सीमा विवाद कुन हदसम्म पुगेको थियो र सीमा क्षेत्रमा दुई देशका सैनिकबीच तनाव कुन हदसम्म पुगेको थियो भन्ने प्रष्ट हुन्छ। त्यसैले यो अवस्थाबाट जतिसक्दो चाँडो मुक्ति पाउनु भारतका लागि जरुरी थियो। परिणामस्वरुप भारतले कोरोना कहरकै बीच चीनसँग सैनिक स्तरमा वार्ता गरेर समस्या समाधानका लागि पहल गरेको छ।

नेपालको सन्दर्भमा भारत हावी

नेपालसँगको सीमा विवादका सन्दर्भमा भारत नै हावी हुने गरेको छ। किनकि, चीनसँगको विवादमा भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले अनधिकृत घुसपैठको आरोपमा नियन्त्रणमा लिने, सीमा क्षेत्रबाट निकै परसम्म खेद्ने गरेको पाइन्छ भने नेपालसँगको सीमा विवाद सतहमा आइपुग्दा भारतले जमिन कब्जा गरिसकेको हुन्छ।

सुस्ता, कालापानीलगायतका क्षेत्रमा भएका सीमा विवादमात्र होइन, पछिल्लो समय इलाम, कञ्चनपुर र कैलाली जिल्लामा बढ्न थालेको सीमा विवादमा पनि भारत हावीहुँदै गएको छ।

नेपालीसँग लालपूर्जा भएको जग्गामा समेत भारतले कब्जा जमाउँदा पनि सरकार मुकदर्शक बनिरहेको हुन्छ भने सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल पनि ‘माथिको आदेश’ भन्दै सीमा क्षेत्रमा तनाव बढ्न नदिने भूमिकामा सीमित रहन्छ।

परिणामस्वरुप भारतले नेपालसँग सम्बन्धित कुनै पनि ठाउँको सीमा मुद्दामा वार्ताको आवश्यकता महसुससम्म पनि गरेको पाइँदैन। नेपालसँगको सीमा विवाद सन्दर्भमा जमिन कब्जामा लिने र भोगचलन गर्न थालेको केही वर्षपछि राजनीतिक नक्सामा सुटुक्क उक्त भूभागलाई गाभ्ने भारतको रणनीति रहँदै आएको छ।

चीनसँगको सीमा विवाद सम्बन्धमा भारतको उक्त चाल सफल भएको पाइँदैन। किनकि भारत–चीन सीमा क्षेत्रमा भारतीय सेनाको तुलनामा चिनियाँ सेना अधिक सुविधा सम्पन्न र सहज अवस्थामा रहेको पाइन्छ।