अमेरिकाको जस्तै भारतीय प्रहरी दमन, सवत्र विरोध



काठमाडौं। जर्ज फ्लोयड नामका एक अश्वेत व्यक्तिको प्रहरी अधिकारीबाटै हत्या भएपछि अमेरिका यतिबेला अशान्त छ। फ्लोयडलाई प्रहरी अधिकारीले घाँटीमा घुँडा राखेर मारेका थिए, जुन भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ।

सो घटनाको विरोधमा केवल अमेरिका मात्रै नभएर विश्वका अरू मुलुकहरूमा समेत प्रदर्शन चलिरहेको छ। अमानवीय हत्याको विरोधमा विश्व आक्रोशित भइरहेको बेलामा भारतमा पनि यस्तै किसिमको घटनाको भिडियो भाइरल बनेको छ। राजस्थान प्रदेशको जोधपुर जिल्लामा प्रहरीले एक व्यक्तिको घाँटीमा घुँडाले थिचेर घाइते बनाएको भिडियो सामाजिक सञ्जालमा भारइल भएको छ।

सो भिडियोमा उक्त प्रहरीले एक व्यक्तिको गर्धनमा घुँडाले थिचेर कुटपिट समेत गरेको देखिन्छ। जोधपुरका प्रहरी कमिस्नर प्रफुल्ल कुमारले ड्युटीमा रहेका आफ्ना दुई प्रहरी अधिकारीहरू यो घटनामा संलग्न रहेको बताएका छन्। अहिले घटनामा संलग्न दुवै प्रहरीमाथि राजकार्यमा बाधा पुर्‍याएको विषयमा मुद्दा चलाइएको उनले जानकारी दिए।

को हुन् प्रहरीद्वारा निर्मम ढंगले पिटिएका व्यक्ति ?

प्रहरीद्वारा निर्मम ढंगले पिटिएका व्यक्तिको नाम मुकेश प्रजापत हो। उनका पिता महादेव प्रजापतका अनुसार प्रहरीले नै उनलाई चौकीमा बोलाएको थियो। उनका अनुसार मुकेशसँग भेट्न जाँदा कपडामा रगत लतपतिएको र हात पनि फर्किएको थियो। तर, उनले प्रहरीलाई अनुरोध गर्दा उनको एक्स रे समेत नगराएको मुकेशका पिताको भनाइ छ। अहिले उनलाई अस्पताल भर्ना गरिएको भए पनि परिवारसँग भेट्न नदिइएको महादेवको गुनासो छ। आफूहरूसँग खानेकुरासम्म नभएकोले केही गर्न नसकेको उनले सुनाए।

विवाद के थियो ?

मुकेश बिहीबार मजदुरीका लागि घरबाट निस्किएका थिए। मास्क नलगाएको आरोपमा प्रहरीसँग उनको झगडा भएको भिडियो बाहिरिएको थियो। यद्यपि, भाइरल भएको भिडियोभन्दा पहिले प्रहरीले नै बनाएको भिडियोमा भने उनले मास्क लगाएको देखिन्छ।

मुकेशका पिता भने ‘मास्क लगाएको भए पनि मुकेशसँग प्रहरीले पैसा मागिरहेका थिए।’ त्यसपछि रिसाएका मुकेशले प्रहरीसँग विवाद गरेका थिए । त्यसपछि दुई प्रहरी मिलेर उनलाई कुटपिट गरेका थिए।

मुकेशको घरमा उनकी पत्नी र तीन बालबच्चा छन्। मुकेशकी पत्नी एक होस्टेलमा खाना बनाउने काम गर्छिन्। उनको सबैभन्दा ठूलो छोरा ११ कक्षामा पढ्छन् र एक होटलमा काम पनि गर्छन्।

मुकेशका छोरा ऋषिका अनुसार अहिले मुकेशको परिवारमा कुनै काम नभएको कारण आर्थिकस्थिति सही नभएकाले पत्नीको आग्रहमा मुकेश मजदुरीको लागि निस्किएका थिए।

प्रहरी को हुन् ?

अमेरिकामा जस्तै एक व्यक्तिलाई भुइँमा लडाएर उनको गर्धनमा घुँडाले थिच्ने प्रहरी प्रतापनगर थानाका कन्स्टेबल हनुमान गोदारा हुन्। यस विषयमा गोदारासँगको कुराकानीमा उनले मुकेशले मास्क नलगाई आएकाले उनको फोटो लिने क्रममा उनले विवाद गरेको र आफूले भिडियो बनाउन खोज्दा मुकेशले मोबाइल खोसेको उनको भनाइ छ।

गोदाराका अनुसार फोन फिर्ता लिने प्रयासको क्रममा मुकेश भुइँमा लडेको र अझै पनि फोन दिन इन्कार गरेपछि उक्त फोन उनको हातबाट छुटाउने क्रममा सो घटना भएको बताए। मुकेशले आफ्नो साथीको बर्दी च्यातिदिएको ती प्रहरीले आरोप लगाए। आफूलाई समेत आँखा फुटाइदिने धम्की दिएपछि यस्तो घटना घटेको गोदाराले बताए।

‘मुकेशले पिताको पनि आँखा फुटाएका थिए’

प्रहरी चौकीका प्रमुख देवनग सोमकरणले मुकेशलाई अहिले न्यायिक हिरासतमा राखिएको र उनलाई १५ दिनको हिरासतमा राख्न अदालतसँग अनुमति मागिएको बताएका छन्। उनले मुकेशले यसअघि पनि आफ्नै पिताको आँखा फुटाइदिएका थिए, जसका कारण उनको पिताको एउटा आँखाको ज्योति सधैंका लागि गुमेको बताए। यद्यपि मुकेशका पिताले भने छोराले आफूमाथि आक्रमण गरेको अस्वीकार गरेका छन्।

उनका अनुसार आठ महिनाअघि आफ्ना दुई छोराहरूको बीचमा भनाभन चलिरहँदा आफूले बीचमा छुट्याउन खोज्दा मुकेशको औंलाले आँखामा लागेको थियो। रिसमा उनले मुद्दा दर्ता गरे पनि पछि फिर्ता लिएको बताएका छन्। भिडियो भाइरल भएसँगै प्रहरीको कार्यप्रति धेरै प्रश्न उठेका छन्। साथै, मानिसहरूले यो घटनालाई अमेरिकाको प्रहरीको घटनासँग जोेड्न थालेका छन्।