कोरोनाबाट प्रभावित पाँचौ नम्बरमा भारत



काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ। संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म दुई लाख ४१ हजार ३१० जना संक्रमित फेला परेका छन्। त्यस्तै इटालीमा दुई लाख हजार ८०१ संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९७१ नयाँ संक्रमित फेला परेका हुन्। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ९२९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २८७ जनाको मृत्यु भएको थियो।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ८२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई हजार ९६९ जनाको मृत्यु भइसकेको छ।

तामिलनाडुमा ३० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा २५१ जनाको मृत्यु भइसकेको छ। राजधानी दिल्लीमा पनि २७ हजारभन्दा धेरै मानिसमा कोराना भाइरसको संक्रमण देखिएको छ भने ७६१ जनाको मृत्यु भइसकेको छ।

भारतको बिहारमा अहिलेसम्म चार हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। त्यस्तै उत्तर प्रदेशमा पनि नौ हजार ७३३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २५७ जनाको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १९ हजार २९३ संक्रमित निको भएर घर फर्किसकेका छन्।