नेपालमा कोरोना भाइरसबाट १३ जनाको मृत्यु


काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ।

शनिबार कैलाली र डोल्पामा एक एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। डोल्पामा पनि एक जनाको मृत्यु भएको छ। जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्लाहुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो।

उनको उनको २० गते निधन भयो। निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनी लामो समयदेखि दमको रोगले पीडित थिए।

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।