‘एमसीसीको वकालत गर्नेहरु डच सिन्ड्रोम बिचौलिया हुन्’



काठमाडौँ। सत्तारुढ (नेकपा) र प्रतिपक्षिदल नेपाली कांग्रेसले संसदबाट पास गर्न लागेको अमेरिकी परियोजना एमससीका बारेमा विभिन्न प्रश्नहरु र विवादहरु चलिरहेका छन्।

एमसीसी परियोजनाको विरोध गर्नेहरु मध्येका एक अभियन्ता हु्न् नरबहादुर कार्की। अभियन्ता कार्की एमसीसी परियोजना राष्ट्रघात हो भन्नेमा पुगेका छन्। एमसीसी परियोजना नेपालमा प्रवेश गरेको समयदेखि विरोध जनाउँदै आएका कार्कीले एमसीसी पास गर्नुपर्छ भन्नेहरुलाई ‘डच सिन्ड्रोम’ बिचौलियाको आरोप लगाएका छन्।

विजुली बेचेर देशलाई सम्पन्न बनाउने सपनामा आधारित एमसीसीका कारण भविष्यमा देश शक्तिराष्ट्रहरुको परेड स्थल बन्ने कार्कीको विश्लेषण छ।

अभियन्ता कार्कीले स्वाधिन राष्ट्रको छातीलाई विदेशी सैनिकको परेड स्थल बनाउनेमा सरकार लागि परेको भन्दै निरन्तर विरोध गर्दै आएका छन्।

शनिबार सामाजिक सञ्जाल मार्फत केही प्रश्न गरेका छन्, ‘नामको अगाडि डा. र माननीय, सम्माननीय राख्देर सर्वज्ञानी हुने देशले इमान नबिकेको जानकार र सल्लाहकार कहिले पाउला ? MCC आयो भने नेपाल बिजुली बेचेर कायापलट हुन्छ भन्ने एजेण्टहरुलाई केही प्रश्न सोध्नु छ। हिराखानि भएर अफ्रिका किन धनी भएन? संसारकै धेरै तेल भएर भेनेजुवेला र इराक किन सम्पन्न भएन? पचासलाख युवा बेचेर ९ खर्व रेमिट्यान्स ल्याएर नेपाल किन धनी भएन ? सुन, हिरा र ग्यासको पैठारी गरेर पनि किन रुसको अर्थतन्त्र सबल भएन ? बिजुली बेचेर धनी भइन्छ भन्ने अर्थशास्त्र कुन विश्वविद्यालय पढेका रहेछन ?

उनले अगाडि लेखेका छन्, ‘अरुले फालेको सजिलो टुक्रा खाने बानी परेका कथित बिचराकहरुले यि प्रश्नको जवाफ दिये हुन्छ। सन २००४ देखी २०१७ सम्मको MCC को कथा पढाउनु पर्दैन। सन २०१८ देखी आइपिएसको हिस्सा हो भन्ने त घाम जत्तिकै छर्लङै छ, अब निल बिन्दु सन्जालको बहस आएको छ। MCC को पर्दा पछाडिका बिज्ञ, सल्लाहकार, परामर्श दाता वा अन्य कती वटा नदेखिने बौद्दिक र भौतिक ठेक्काको आशाले हो, सत्य चपाएर कथित जानकारहरु ठीक छ भन्दछन ? घर भाडा उठाएर खानेसम्मको योजना बनाउने औकातका कथित अर्थबिदले देश बनाउनेबारे के ठुलो सोच्न सक्छन ? अर्थ पराधिनताको यो मोडेल वकालत गर्नेहरुले खुलेर आफ्नो परिचय बताउनु पर्छ, उनीहरु डच सिन्ड्रोमको पक्षधर बिचौलिया हुन किन नभन्ने ?’