सुर्खेत। कर्णाली प्रदेशमा कोरोना जितेर ७ जना घर फर्किएका छन्।
प्रदेश अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार आज डिस्चार्ज हुनेहरूमा १ जना दैलेखका, ५ जना सुर्खेतका र एक जना ठेगाना नखुलेका बोल्न नसक्ने रहेको बताए।
कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन्। एकजना महिलाको नाम र ठेगाना अस्पतालले खुलाएको छैन।
कर्णालीमा शुक्रबारसम्म ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ। २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। यसैबिच कोरोना जितेर घर फर्किनेरूलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बधाई दिएका छन्।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘कर्णालीमा पहिलोपटक आज ७ जनाले कोरोना भाइरसलाई जितेर प्रदेश अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँहरु सबैलाई बधाई छ। डिस्चार्ज भएका युवाले दिनु भएको अभिव्यक्ती हामी सबैका लागि प्रेरणादायी छ।’
तस्बिरः विवश सेजुवाल