अमेरिकामा गान्धीको शालिक तोडफोड



वासिङटन। अमेरिकामा रहेको भारतीय दूतावासअगाडि अवस्थित महात्मा गान्धीको शालिकमा तोडफोड भएको छ। अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा शालिक तोडफोड भएको हो।

शालिकमा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ। गत मे महिनाको २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो। अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ।

हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ। भिडियो नै सार्वजनिक भएको र सर्वत्र दबावपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया शुरु गरिसकेको छ।

तैपनि देशभरी आन्दोलन भइरहेको छ भने जनधनको समेत क्षति भएको छ। आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी शहरमा कफ्र्युसमेत लगाउनु परेको छ।

आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ। गान्धीको शालिकमाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ। तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरूलाई जानकारी गराएको छ।