कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वाव नपठाउन अनुरोध



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म अन्य जिल्लाहरुबाट कोरोना परिक्षणका लागि स्वाव नपठाउन अनुरोध गरेको छ।

कर्णाली प्रदेशका जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। भारतबाट आएका नागरिकहरुको स्वाव प्रतिष्ठानमा परिक्षणका लागि लाइनमा राख्नुपर्ने अवस्था सृजना भएकोले तत्कालका लागि एक हप्तासम्म नयाँ स्वाव नपठाउन अनुरोध गरेको हो।

प्रतिष्ठानको ल्यावमा रहेको मेसिनले दैनिक १०० जनासम्मको रिर्पोट दिने गरेको छ। साविक कर्णालीका ५ जिल्लालाई लक्षित गरेर स्थापना गरिएको मेसिनले अहिले प्रदेशका प्राय सबै जिल्लाहरुबाट आएको स्वाव परिक्षण गरिरहेको छ।

विहिबारसम्म प्रतिष्ठानमा १ हजारभन्दा बढी स्वाब लाईनमा छन्। ति स्वाबहरुको पिसिआर परिक्षण गर्न बाँकी रहँदै गर्दा अन्य स्वाब आए लाईनमा राख्नुपर्ने हुन्छ।

यसरी लाइनमा राख्दा स्वाबको गुणस्तरमा ह्रास आउने संभावना हुने भएकाले कम्तिमा एक हप्तासम्म स्वाब नपठाउन प्रतिष्ठानले जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय प्रमखहरुलाई मौखिक जानकारी दिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए।